गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज खाम्दोङ सिङताम निर्वाचन क्षेत्रअन्तर्गत साङ राब्दाङमा महकुमा कार्यालयको उदघाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यो पूर्वाधारको विधिवत उद्घाटन हुनु एक ऐतिहासिक क्षण रहेको उल्लेख गर्दै यसको लाभ स्थानीयहरूले उठाउनु पर्ने आग्रह गरे। एसकेएम सरकारले सिक्किमेली जनताको सुविधालाई ध्यानमा राखेर ४ देखि ६ वटा जिल्ला बनाएको जानकारी गराए। साङ राब्दाङमा महकुमा अधिकारीको निर्माण हुनुमा क्षेत्र विधायक एनबी दाहाल साथै जिल्ला प्रशासनका अधिकारीहरूको योगदानको पनि मुख्यमन्त्रीले उल्लेख गरे। यस्ता महकुमा कार्यालय अन्य जिल्लाहरूमा पनि स्थापना गरिने मुख्यमन्त्रीले जानकारी आफ्नो सम्बोधनमा अवगत गराए। गत दिनमा सम्पन्न भएको सिक्किम विधानसभा चुनाउमा साङ राबदाङ वार्डका जनताले सबैभन्दा अधिक मत एसकेएमका उम्मेद्वार एनबी दाहाललाई दिएर जिताएको उल्लेख गर्दै क्षेत्र विधायकको तत्परतामा यो ठाउँमा फ्री वाई फाई क्षेत्र बनाईदिएको पनि अवगत बताए। यो महकुमा कार्यालयको निम्ति सित्थैमा जमिन उपलब्ध गराईदिएकोमा स्व. बीएस लामाकी धर्मपत्नि श्रीमती कृष्णामाया तामाङप्रति आभार प्रकट गरे। एसकेएमको सरकार जनताको गुनासो सुन्ने सरकार रहेको उल्लेख गर्दै मुख्यमन्त्री कोषबाट विभिन्न आवश्यकतामा परेकाहरूलाई आर्थिक सहयोग प्रदान गर्ने कार्य भईरहेको जनाए। मुख्यमन्त्री कोषबाट आज धेरै विद्यार्थीहरूले राज्य बाहिरका नामी शैक्षिक संस्थानहरूमा पढ्ने अवसर पाईरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले गरीब बिमारीहरूको उपचारमा पनि सहयोग पुऱ्याएको बताए। सिक्किमको स्वास्थ्य व्यवस्थासँग राज्यका नागरिक विश्वस्त हुनुपर्ने आवहान गर्दै मुख्यमन्त्रीले सिलगढीमा सिक्किमबाट रेफर भएर गएका बिमारीहरूको निम्ति विश्राम गृह निर्माण गरिने घोषणा गरे। उक्त विश्रामगृहमा ४ दिन सम्म बस्न र खान निःशुल्क रहने आफ्नो सम्बोधनमा मुख्यमन्त्रीले उल्लेख गरे। आज उद्घाटित यो महकुमा कार्यलयबाटै स्थानीय जनताका सबै काम हुने जनाउँदै जनतालाई यसले धेरै स्थानीयहरूलाई धेरै सुविधा पुग्ने बताए। सडक निर्माणका कार्यालाई विशेष ध्यानमा राखेर काम गर्न आवहान गर्दै मुख्यमन्त्रीले छडके भ्रमण गरेर कामको प्रगतिबारे जायजा लिन विभागीय अधिकारीहरूलाई सुझाव दिए। साङको सडक पनि छिट्टो बनाउन मुख्यमन्त्रीले निर्देशन दिए। सिङताम खाम्दोङका पूर्व विधायक एमके शर्मा महत्वाकांक्षी बनेकोले क्षेत्रवासी जनताले धेरै दुख पाएको बताए। जनतालाई विश्वासघात गर्ने र पार्टीलाई धोका दिंदा २०२४को चुनावमा यहाँका जनताले उनलाई नराम्रोघतले पराजित गरेको उल्लेख गरे।

पाँच बर्षको अवधिमा उनले यहाँका जनतालाई नहेरे पनि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउँदै आएको जनाए। खाम्दोङमा एनआईटीको स्थापना भईरहेको जनाउँदै मुख्यमन्त्रीले यसको निर्माण भएर यहाँ अध्ययन शुरू भएपछि विकासको मुल फुट्ने बताए। यसै गरी सिङताम अस्पतालको निर्माण कार्य टोपाखानीमा ३ सय शैय्याको अस्पताल निर्माण भईरहेको जनाउँदै सिङताम बजारमा लिम्बु भवनको निम्ति जग्गा उपब्ध गराईएको, बाढ पिडितहरूको पुनर्वासको निम्ति ३२ नम्बरमा कोलोनी निर्माण गरिने, जसलाल प्रधान बक्सिङ एकाडेमी पनि सिङताम खाम्दोङ समष्टिमा निर्माण हुने तथा सडक विस्तार, जल जीवन मिशन लगायतका विविध विकासीय कार्यहरू क्षेत्रमा भईरहेको जानकारी गराए।

क्षेत्रवासी जनताको पक्षमा राखिएका विभिन्न मागहरूलाई लिएर कार्य गरिने मुख्यमन्त्रीले जानकारी गराए। राज्यका सबै निर्वाचन क्षेत्रमा कम्तिमा पनि एक एक वटा विश्वविद्यालय स्थापित गर्ने सरकारको योजनाको उल्लेख गर्दै तुमिन लिङ्गीमा विश्वविध्यालय निर्माण गरिने घोषणा गरे। यस कार्यक्रममा क्षेत्र विधायत एवम मन्त्री एनबी दाहाल, मन्त्री सोनम लामा, विधायक सोनम भेञ्चोङपा, विधायक टीटी भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।