शक्तिशाली ‘चिडो’ आँधीका कारण हिन्द महासागरको फ्रान्स अधिनस्थ मेयोट द्वीपमा ठूलो संख्यामा सर्वसाधारण प्रभावित भएका छन्। यस क्षेत्रमा गएको सय वर्षमा आएको सबैभन्दा शक्तिशाली आँधी भएको बताइएको छ। मेयोट द्वीपमा २२५ किलोमिटरको गतीमा आँधी आएको थियो। यसलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी भनिएको छ। फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको आँधीले क्षति पुर्याएको हो। अधिकारीहरूका अनुसार आँधीका कारण सयौँको मृत्यु भएको छ। राहत कार्यकर्ताहरू अझै पनि केही प्रभावित क्षेत्रमा पुग्न प्रयास गरिरहेका छन्। मेयोटको जनसंख्या ३ लाख २० हजार छ। अहिले हजारौँ मानिस खाना, पानी र आश्रयविना बसिरहेका छन्। यस द्वीपमा फ्रान्सको अधिकार छ। मेयोट द्वीप फ्रान्सको राजधानी पेरिसबाट करिब ८ हजार किलोमिटर टाढा पर्दछ। फ्रान्सको गृह मन्त्रालयले त्यहाँ मृत्यु भएकाको संख्या दिन अहिल्यै नसकिने जनाएको छ। अधिकारीहरुले त्यहाँको भयावह अवस्था हेर्दा मृतकको संख्या १ हजारको संख्यामा हुनसक्ने आशंकासमेत गरेका छन्। घर, सडक, सरकारी कार्यालय र बिजुलीका पूर्वाधारहरुमा आँधीले क्षति पुर्याएको छ। अल जजिराका अनुसार मेयोट द्वीपमा मुस्लिम समुदायको बसोबास छ। मुस्लिम समुदायमा २४ घण्टाभित्र शव दफन गर्ने संस्कार छ। तर त्यहाँको अवस्था हेर्दा मृतक पहिचान गर्नै केही दिनसम्म लाग्ने सम्भावना छ।