नयाँ दिल्ली: देशमा पर्यटनको विकास र प्रवर्द्धनको मुख्य जिम्मेवारी सम्बन्धित राज्य सरकारहरू (एसजी) / केन्द्र शासित प्रदेश प्रशासन (यूटी) द्वारा गरिन्छ। पर्यटन मन्त्रालयले यी प्रयासहरूलाई सहयोग गर्दै ‘स्वदेश दर्शन’ र ‘तीर्थयात्रा पुनरोद्धार र आध्यात्मिक, सम्पदा संवर्द्धन अभियान (प्रसाद)’ योजनाहरू अन्तर्गत पर्यटन सुविधाहरूको विकासका लागि वित्तीय सहायता प्रदान गर्दछ। यो सहायता सम्बन्धित योजनाहरूका दिशा-निर्देश, उपलब्ध कोष आदि अनुसार राज्य सरकारहरू/केन्द्रशासित प्रदेशहरूबाट प्राप्त परियोजना प्रस्तावहरूका आधारमा दिइन्छ। मन्त्रालयले अब ‘स्वदेश दर्शन’ योजनालाई ‘स्वदेश दर्शन २.० (एसडी २.०)’ का रूपमा पुनर्गठित गरेको छ, जसको उद्देश्य देशमा दिगो र जिम्मेवार पर्यटन स्थलहरूको विकास गर्नु हो।
स्वदेश दर्शन योजनाका दिशा-निर्देशहरूले भविष्यको विकासको केन्द्रमा दिगो र जिम्मेवार पर्यटनको विकासलाई प्राथमिकता दिएको छ। यस योजनाले दिगो पर्यटनका सिद्धान्तहरू अपनाउन राज्य सरकारहरू/केन्द्रशासित प्रदेश प्रशासनहरूलाई प्रोत्साहित गर्दछ, जसमा पर्यटन स्थलहरूको विकासका लागि परियोजना तयार गर्दा स्थानीय समुदायहरू र सरोकारवालाहरूसँग परामर्श सुनिश्चित गर्नु पनि सामेल छ। पर्यटन मन्त्रालयले राज्य सरकारहरू/केन्द्रशासित प्रदेश प्रशासनहरूलाई विद्यमान पर्यटन स्थलहरूमा भीडभाड घटाउन वैकल्पिक स्थलहरूको प्रवर्द्धनको सम्भावनाहरू खोज्न पनि प्रोत्साहन गरिरहेको छ। यो कदम दिगो पर्यटन उपायको रूपमा उठाइएको हो। त्यसका अतिरिक्त, मन्त्रालयले ‘मिशन लाइफ’ अन्तर्गत पर्यटन क्षेत्रका लागि ‘ट्राभल फर लाइफ (टीएफएल)’ नामक कार्यक्रमको परिकल्पना गरेको छ, जसको उद्देश्य दिगो पर्यटनप्रति जनचेतना फैलाउनु र पर्यटकहरू तथा पर्यटन व्यवसायलाई प्रकृतिमैत्री दिगो अभ्यासहरू अपनाउन प्रेरित गर्नु हो। पर्यटन मन्त्रालयले ‘राष्ट्रिय दिगो पर्यटन रणनीति’ र ‘राष्ट्रिय ईको-टुरिज्म रणनीति’ पनि तयार पारेको छ। यस रणनीतिको लक्ष्य भारतलाई विश्वव्यापी रूपमा दिगो र जिम्मेवार पर्यटन तथा ईको-टुरिजमको लागि एक प्राथमिक गन्तव्यका रूपमा स्थापित गर्नु हो। यो जानकारी केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री गजेन्द्र सिंह शेखावतले आज लोकसभामा लिखित उत्तरमार्फत दिएका हुन्। -पीआईबी