वाशिंगटन: पृथ्वीको नजिकै एउटा ग्रहले वैज्ञानिकहरूलाई चकित बनाएको छ। यो ग्रहको विशेषता के हो भने यससँग धूमकेतुजस्तै लामो पुच्छर छ। यो पुच्छर यति ठूलो छ कि यसमा ४० वटा पृथ्वी सजिलै अट्न सक्छन्। यो ग्रह आफ्नो ताराको धेरै नजिक रहेको छ। विज्ञहरूका अनुसार, पुच्छरजस्तै देखिने यो विशाल संरचना ग्रहको वायुमण्डलबाट चुहिने ग्यासबाट बनेको हो। तारकीय हावाको माध्यमबाट यो ग्यास उडिरहेको छ, जसलाई ‘विन्डसक’ भनिन्छ। यस ग्रहलाई डब्ल्युएएसपी-६९ बी भनिन्छ, जुन एउटा ग्यासीय ग्रह हो। यसको आकार बृहस्पतिजस्तै ठूलो छ, तर यसको द्रव्यमान बृहस्पतिको एक तिहाइभन्दा पनि कम छ। यो ग्रह पृथ्वीबाट १६० प्रकाश वर्ष टाढा रहेको छ। आफ्नो ताराको अत्यन्तै नजिक रहेकाले यो ग्रह ३.९ दिनमै आफ्नो ‘सूर्य’को परिक्रमा गर्छ। सन् २०१४ मा यसको खोज गरिएको थियो।
अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि डब्ल्युएएसपी -६९ बी प्रति सेकेन्ड २ लाख टन ग्यास बाहिर फालिरहेको छ, जसमा मुख्यतया हिलियम र हाइड्रोजन छन्। यो अत्यधिक तापका कारण हुनसक्ने विश्वास छ। लाइभ साइन्सको रिपोर्टअनुसार, यो ग्यास ७ अर्ब वर्षदेखि निस्किरहेको छ। जुन गतिमा ग्रहबाट ग्यास बाहिर निस्किरहेको छ, त्यसले गर्दा यो ग्रहले आफ्नो जीवनकालमा सम्भवतः ७ पृथ्वीबराबर द्रव्यमान गुमाएको हुन सक्छ। वैज्ञानिकहरूले पहिला अनुमान गरेका थिए कि डब्ल्युएएसपी -६९ बी को धूमकेतुजस्तै पुच्छर हुनसक्छ, जुन अन्तरिक्षमा चुहिरहेको ग्यासले बनेको हो। तर यसको पुष्टि हुनसकेको थिएन। तर, ९ जनवरीमा प्रकाशित एक अध्ययनमा, जुन एस्ट्रोनोमी एण्ड एस्ट्रोपिजिक्स पत्रिकामा छापिएको थियो, अनुसन्धानकर्ताहरूले हवाईमा रहेको वेधशालाको डेटा प्रयोग गरेर यो ग्रह र यसको पर्यावरणको विश्लेषण गरे। अध्ययनले देखायो कि वास्तवमै यस ग्रहको पुच्छर ५.६ लाख किलोमिटरसम्म फैलिएको छ, जुन पृथ्वीको चौडाइभन्दा लगभग ४४ गुणा ठूलो हो।
अध्ययनका प्रमुख लेखक र क्यालिफोर्निया विश्वविद्यालयका खगोलभौतिकीका पीएचडी विद्यार्थी डकोटा टायलर भन्छन्, ‘अघिल्ला अध्ययनहरूले संकेत गरेका थिए कि डब्ल्युएएसपी -६९ बीसँग सानो पुच्छर हुनसक्छ, वा सायद कुनै पुच्छर नै नहुन सक्छ। तर हामीले निश्चित रूपमा देखाउन सफल भयौं कि यस ग्रहको हिलियमबाट बनेको पुच्छर वास्तवमै विशाल छ, जसको लम्बाइ ग्रहको त्रिज्याभन्दा कम्तीमा सात गुणा बढी छ।‘ यो ग्रहको पुच्छर तब बन्छ, जब ताराबाट निस्कने हवाले ग्यासलाई ग्रहबाट टाढा धकेल्छ, जसले गर्दा यसको पछाडि एक चिह्नजस्तै संरचना बनाउँछ। ताराबाट निस्कने यी हवाहरू हाम्रो सूर्यबाट आउने सौर हावाजस्तै हुन्छन्। यदि यी तारकीय हावाहरू हराए भने ग्रहको पुच्छर पनि हराउनेछ।