दार्जीलिङ: क्रिसमस पर्वको ठीक एक सप्ताह पूर्व आज युवा सर्जक दिलकस विद्याभूषण तामाङको शब्द रचनामा प्रतिष्ठित गायक साइराज खातीको “हजार कष्ट” गीत सार्वजनिक भयो। हिमालय पेन्टिकोस्टल चर्च गेलबाट प्राथना सभा गरि सार्वजनिक गरिएको उक्त गीतका संगीतकार रवीन्द्र सुन्दास हुन्। समाजसेवी बुद्धिराज तामाङ लामाको सहयोगितामा निर्मित गीत सर्जक दिलकस विद्याभूषण तामाङ अनि गायक साइराज खातीको यो पहिलो गोस्पल गीत हो। पास्टर अहभ रोगोंग,पास्टर इनोक राई, पास्टर अमर गुरुङ,निर्माता बुध्दिराज तामाङ लामा आदिको बाहुलीबाट प्रार्थना गरी लिरिकल भिडियो “हजार कष्ट” रिलिज गरियो भने कार्यक्रमलाई एल्डर बी के लामाले सञ्चालन गरेका थिए। शुघोषा स्टुडियो मिरिकमा रिकर्डिङ गरिएको गीतलाई युवा संगीतकार अभिशेक रामुदामुले संगीत संयोजन गरेका छन्। उक्त लिरिकल भिडियोलाई पुराण राईले सम्पादन गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सर्जक दिलकस विद्याभूषण तामाङले गायक साइराज खाती अनि संगीतकार रवीन्द्र सुन्दासको पक्षमा निर्माता बुद्धिराज तामाङ अनि हिमालय पेन्टिकोस्टल चर्चप्रति आभार प्रकट गरे।