काठमाडौं: सानो पर्दाबाट हास्य कलाकारको छवि बनाएका जितु नेपाल ठूलो पर्दामा पनि शुरुका वर्षमा हास्य भूमिकैमा देखिए। तर जब उनले चलचित्रमा मुख्य भूमिका पाए त्यहाँ उनी गम्भीर भूमिकामा देखिए। तर, सहायक भूमिकामा भने उनले कमेडी भूमिका नै पाउँदै आएका छन्। दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘कार्साङ’मा उनको चरित्र कस्तो छ? यो चलचित्रमा जितु दयाहाङको साथीको भूमिकामा रहेको टिजरले प्रष्ट पारिसकेको छ। ‘कार्साङ’मा जितुको जोडी दयाहाङसँग जोडिएको छ। उनी यो चलचित्रमा दलित समुदायको पात्रमा रहेको निर्माणपक्षले सार्वजनिक गरेको पोस्टरबाट अनुमान लगाउन सकिन्छ।

नानी नभएको दोष एकले अर्कोलाई लगाइरहेको रहस्य यसको टिजरले खोलिसकेको छ। तर, कारण के र समस्या कोमा छ भन्ने हालसम्म खुलेको छैन। यसमा उनले दर्शकलाई हसाउनेछन्। हसाउनेसँगै केही गम्भीर चरित्र पनि रहेको जितुले बताएका छन्। यसअघि दशैंमा रिलिज भएको चलचित्र ‘ज्वाइँ साब’मा उनी मुख्य भूमिकामा थिए। यसपछि उनी फेरि क्यारेक्टर रोलमा फर्किएका हुन्। यसैबीच, ‘कार्साङ’ले पब्लिसिटी शुरु गरेको छ। पूर्वी नेपालबाट चलचित्रको प्रचार शुरु गरेको हो। चलचित्रका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्केले पूर्वी नेपाल पुगेर सिनेमा हेर्न दर्शकलाई अपिल गरिरहेका छन्। आम ग्रामीण परिवेशको नेपालीको कथा चलचित्र ‘कार्साङ’ले भन्ने भन्दै कलाकारहरूले आफ्नौ ठाउँ समुदायको कथा सिनेमामा देख्न सकिने बताएका छन्।
यम शेर्पाको डेब्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ ११ जनवरी २०२५ (पुस २६ गते) पदर्शन हुने निर्माणपक्षले जनाएको छ। शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ। यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन्। सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन्। यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छ भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ।