बुमराहको उत्कृष्ट प्रदर्शनपछि पनि अष्ट्रेलियाको पल्ला भारी

IMG-20241215-WA0194

ब्रिसबेन: जसप्रीत बुमराहले असाधारण बलिंग गरे पनि अष्ट्रेलियाले भारतविरुद्ध बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत जारी तेस्रो टेस्ट म्याचको दोस्रो दिन आफ्नो स्थिति बलियो बनायो। अष्ट्रेलियाले आइतवार दोस्रो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ७ विकेट गुमाएर ४०५ रन बनायो। दोस्रो दिनको खेल समाप्त हुँदासम्म एलेक्स केरी ४५ र मिचेल स्टार्क ७ रन बनाएर खेलिरहेका थिए। अष्ट्रेलियालाई विशाल स्कोरसम्म पुऱ्याउनमा ट्रेविस हेड र स्टीव स्मिथको शतकीय ईनिंग्सले महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो। हेडले १६० बल खेलेर १८ वटा चौकाको साथ १५२ रन बनाए। यो उनको लगातार दोस्रो टेस्ट शतक अनि समग्रमा नवौं टेस्ट शतक हो। यसरी स्मिथले १९० बल खेलेर १२ वटा चौकाको साथ १०१ रन बनाए। यो उनको भारतविरुद्ध दशौं अनि समग्रमा ३३औं टेस्ट शतक हो। भारतीय बलरहरूमा बुमराहले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए पनि अन्य बलरहरूले निराशाजनक प्रदर्शन गरे। मोहम्मद सिराज र नितिश कुमार रेड्डीले १-१ विकेट लिए पनि आकाश दीप र रविन्द्र जडेजाले विपक्षी ब्याटरहरूमाथि दबाउ बनाउन सकेनन्। भारतले हेड र स्मिथबीच चौथो विकेटको निम्ति २४१ रनको पार्टनरशीपपछि केही विकेट हासिल गरे पनि दोस्रो दिन ४०५ रनको साथ अष्ट्रेलियाको पल्ला भारी रह्यो। शनिवारको स्कोर कुनै विकेट नगुमाई २८ रनदेखि अघि खेल्न शुरु गर्ने अष्ट्रेलियालाई आज बुमराहले शुरुमै आघात दिए। उनले उस्मान ख्वाजा (२१ रन) र नाथन म्याकस्वीनी (९ रन)-को विकेट लिए। यसरी मार्नस लाबुशेन (१२ रन)-लाई रेड्डीले आउट गरे। यसरी एक समय स्कोर ३ विकेटमा ७५ रन रहेको थियो। त्यहाँबाट फर्ममा रहने हेडले स्मिथबाट असल साथ पाए। यी दुईजनाले उत्कृष्ट ब्याटिंग गर्दै चौथो विकेटको निम्ति २४१ रनको विशाल पार्टनरशीप गरे। बुमराहले फेरि एकपल्ट स्मिथलाई आउट गरी यस पार्टनरशीपलाई तोड़े। त्यसपछि बुमराहले हेड र मिचेल मार्शलाई पनि आउट गरे। मार्शले केवल ५ रन बनाए। त्यसपछि एलेक्स केरी र कप्तान प्याट कमिन्सले मिलेर सातौं विकेटको निम्ति ५८ रन योग गरी स्कोर ३८५-सम्म पुऱ्याए। कमिन्स २० रन बनाएर सिराजको शिकार बने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement