गान्तोक: पाकिम जिल्ला अन्तर्गत रानीपुल नजिक सरमसा गार्डनमा आज लिम्बू समुदायको महान पर्व चासोक तोङनाम राज्यस्तरीयरूपमा पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने उनकी धर्मपत्नी कृष्ण राई, मन्त्रीमण्डलका सदस्य, विधायकगण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रत्येक वर्षको १५ दिसम्बरमा लिम्बू समुदायको महान पर्व चासोक तोङनाम मनाउँदै आइरहेको बताए। तर सोही दिन नै त्योङसी सिरिजङ्गा पर्व साथै भुजेल समुदायको पर्व पनि सोही दिन परेको हुनाले आज नै यो पर्व पालन गरिएको बताए। तर एक दिन अघि यो पर्व पालन गरिएकोमा मानिसहरू अन्योलमा पर्ने विषयमाथि उनले स्पष्टरूपमा जानकारी गराए।
अबोप्रान्त सबै समुदायको पर्वलाई राज्यस्तरीयरूपमा एक दिन अघि नै पालन गरिने जानकारी गराए। उनले अबदेखि उता कुनै पनि समुदायको पर्व एक दिन अघि नै राज्यस्तरीयरूपमा मनाउनु पर्ने सुझाउ दिए। आफ्नो जातीय नृत्य, भाषा बोल्दा लजाउन नहुने बताए। आफ्नो संस्कृतिलाई सबै समुदायले संरक्षण गर्नुपर्ने आग्रह गरे। राज्यमा बसोबासो गर्ने समुदायको संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यले आगामी १४ जनवरीदेखि शुरू हुने माघे मेलामा सबै जातिको संस्कृति प्रदर्शन गरिने हिजो जोरथाङमा बसेको सभाले निर्णय लिएको अवगत गराए। यस भन्दा अघि पनि सबै समुदायले आफ्नो परम्परा अनुसार पर्व पालन गर्दै आइरहेको थियो तर त्यसबेला सार्वजनिक विदा नभएको हुँदा सरकारी कर्मचारीहरूले विदाको समस्या भोग्नु परिरहेको थियो। एसकेएम पार्टी सत्तामा आएपछि चासोक तोङनामलाई सार्वजनिक विदाको रूपमा घोषणा गरेको अवगत गराए। एसकेएम सरकार सत्तामा आउन भन्दा अघि सरकारी कर्मचारीहरूले कार्यक्रममा जाँदा सोच्नु पर्ने स्थिति थियो। अहिले कुनै पनि जातीय पर्वमा जाँदा पार्टीको झण्डा लगाएर जाने प्रथा बन्द गरेको किटान गरे। राज्यका कुनै पनि जाति राजनीतिक कारणले टुक्रिन नहुने सुझाउ दिए। राज्यमा बसोबासो गर्ने सबै जातिलाई अघि बढाउनको निम्ति सरकार सदैव तयार रहेको बताए। उनले थप जानकारी गराए अनुसार सबै समुदायले आफ्नो समुदायभित्र पर्ने बुद्धिजीविहरूलाई प्रयोग गर्नुपर्ने आग्रह गरे। पूर्व सरकारले मार्तमको गुफालाई अदेखा गर्दै त्यहाँबाट राष्ट्रीय राजमार्ग निर्माण गर्नको निम्ति सर्वेक्षण शुरू गरेको थियो। तर एसकेएम पार्टी सरकारमा आउनसाथ सर्वेक्षण रद्द गरेको अवगत गराए। एसकेएम सरकार कुनै पनि जातिको संवेदनमाथि कंलक लाग्न नदिने उद्देदश्य लिएर काम गरिरहेको बताए। उनले थप जानकारी गराए अनुसार मंगन जिल्ला अन्तर्गत जङ्गु निर्वाचन क्षेत्रमा मांगहिमको निर्माण गर्ने घोषणा गरे। लिम्बू भाषामा अनुसन्धान गर्ने विद्यार्थीहरूलाई सरकारको तर्फबाट सबै प्रकारको सहयोग गर्ने बचन दिए। एसकेएम पार्टी सरकारमा आएपछि सबै जातिका अधिकारीहरूलाई बराबररूपमा पदोन्नती गरेर न्याय दिएको दावी गरे।सिक्किम विधानसभामा लिम्बू तामाङ समुदायलाई सीट दिनु पर्ने विषयलाई लिएर केन्द्रीय मन्त्रीहरूसँग पत्रचार गरिरहेको बताउँदै आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभामा यसबारेमा प्रस्ताव पारित गर्ने मुख्यमन्त्री तामाङले घोषणा गरे। अबोप्रान्त आफ्नो जातिय कार्यक्रममा आउँदा पारम्पारिक भेषभुषामा सजिएर आउनु पर्ने आग्रह गरे।

सोही क्रममा सम्बोधन गर्दै सांसद इन्द्रहाङ सुब्बाले लिम्बू समुदाय़को महान पर्व चासोक तोङनाम पर्वलाई सरकारी विदाको रूपमा घोषणा गरेकोमा उनले सम्पूर्ण लिम्बू समुदायको तर्फबाट कृतज्ञता प्रकट गरे।