गान्तोक: सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागका सरोकारवाला र नागरिक समाजका प्रतिनिधि टोलीले हालै महाराष्ट्रको पूणे र अहमदाबादमा सम्पन्न सरोकारवालाहरूको सम्मेलनमा सहभागिता जनाए। सम्मेलनमा आत्महत्या न्यूनीकरण परामर्शसम्बन्धी विषयमा छलफल भएको थियो। सिक्किम इन्सपायर्सको पहलले सरोकारवालाहरूलाई राज्यको स्वास्थ्यमाथि गम्भीरतासित काम गर्न यस प्रकारको सम्मेलनमा सामेल गराउने कार्य गरिएको हो। टोलीले सिक्किममा मानसिक स्वास्थ्य सुधार गर्ने लक्ष्यको लागि समावेशी, रणनीतिलाई प्रमुखता दिएको थियो। टोलीमा पञ्चायत सदस्य, जिल्ला प्रशासनका अधिकारीहरु, विभिन्न विभागीय अधिकारीहरु, स्वास्थ्यकर्मीहरु, सिक्किम इन्सपायर्सका नोडल अधिकारीहरु, कलेजका प्राध्यापकहरु, शिक्षक-विद्यार्थी, ग्राम विकास अधिकारी, स्वयं सहायता समूहका प्रतिनिधिहरु, मिडियाकर्मीहरु र युवा संघका युवा प्रतिनिधिहरुको सहभागिता थियो। उक्त सम्मेलनको प्राथमिक उद्देश्य विभिन्न राज्यमा मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणको लागि रणनीति तयार पार्नु रहेको थियो।