क्यापको तेस्रो स्थापना दिवस पालनबारे तयारी सभा

IMG-20241214-WA0259

गान्तोक: राज्यमा हाल एकमात्र विपक्षी पार्टीको भूमिका निर्वाह गर्दै आएको सिटिजन एक्शन पार्टी, सिक्किमले आगामी वर्षको २६ जनवरीको दिन तेस्रो स्थापना दिवस विविध कार्यक्रमको साथमा पालन गर्ने भएको छ। यस बारेमा आज गान्तोकको लोवर लुम्सेस्थित पार्टी मुख्यालयमा अध्यक्ष गणेश राईको अध्यक्षतामा एउटा समन्वय सभा बसेको थियो। बैठकमा आगामी कार्यक्रमको तयारीलाई लिएर विस्तृत रुपमा चर्चा भयो। उल्लेखनीय छ, सिटिजन एक्शन पार्टी, सिक्किमको स्थापना वर्ष २०२३ को २६ जनवरी अर्थात गणतन्त्र दिवसको दिन भएको हो।
आजको बैठकमा स्थापना दिवस कार्यक्रमलाई भव्यतापूर्वक आयोजना गर्न विभिन्न पक्षमाथि चर्चा गरियो। पार्टी अध्यक्ष राईले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै केन्द्रीय कार्यकारी परिषद साथै सबै जिल्ला कार्यकारी परिषदलाई कार्यक्रमको तयारीमा सक्रियतासित लागिपर्ने आह्वान गरे। बैठकमा आगामी कार्यक्रमलाई लिएर विभिन्न सदस्यहरूले आ-आफ्नो सुझाउहरू पनि दिए।
आजको बैठकमा स्थापना दिवस कार्यक्रमको तयारीसाथै पार्टीका हालसम्मका विभिन्न क्रियाकलापमाथि पनि चर्चा गरियो। विशेष गरेर विभिन्न परिषदहरूले प्रस्तुत गरेका प्रस्तावहरूमाथि समीक्षा गर्दै त्यसको कार्यान्वयन प्रगतिबारे छलफल गरियो।
बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश राईले पार्टीले हालसम्म प्राप्त गरेका उपलब्धीहरू साथै भावी चुनौतिहरूबारे प्रकाश पारे। चुनाउ जितेर सत्तामा आउन मात्र सिटिजन एक्शन पार्टी, सिक्किमको लक्ष्य नरहेको बताउँदै राज्यको सम्पूर्ण व्यवस्थालाई नै सुधार गर्ने पार्टीको लक्ष्यलाई पूरा गर्न पार्टीका सबै नेता अनि कार्यकर्ता इमान्दार भएर जनसेवामा निरन्तर लागिरहनुपर्ने कुरामा उनले जोर दिए। यसै सन्दर्भमा बोल्दै उनले आगामी वर्ष २०२५को आरम्भदेखि नै आफू जनताको दुःख र समस्याहरू सुन्न राज्यका सबै गाउँ-घरमा पुग्ने अध्यक्ष राईले थप बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement