खरसाङ: पश्चिम बंगाल नेवा बौद्ध कल्याण संगठनको बैठक खरसाङ महकुमा समिति गठन गर्न आयोजित भएको छ।
घैयाबारीका गणेश प्रधानको अध्यक्षतामा भएको बैठकमा विभिन्न विषयमा छलफल भएको थियो। बैठकमा खरसाङ क्षेत्रका विभिन्न स्थानका नेवारहरुको सहभागिता रहेको थियो। उपस्थित सदस्यहरूले आर्थिक विकासमाभन्दा सांस्कृतिक र परम्परागत विकासमा बढी ध्यान दिएका थिए। सदस्यहरूले नेवारहरू संस्कृति र परम्परामा धनी भएकाले पश्चिम बङ्गाल सरकारले सुविधा दिईरहेको अवस्थामा त्यसको सकरात्मक फाइदा उठाउँदै आगामी पुस्तालाई नेवारहरूको इतिहास सिकाउने जिम्मेवारी हाम्रो भएकोमा पनि छलफल गरेका थिए। घर बनाउन मात्र नभई नेवारी भाषा, लिपि, संस्कृति र परम्परा सिकाउने जस्ता धेरै सुविधाहरूमा बढी ध्यान दिइने कुरामा जोड दिइएको छ।
खरसाङ महकुमा समितिको पदाधिकारीहरू चयनका लागि छलफल र निर्वाचन प्रक्रिया गरियो जसमा संघको अध्यक्ष गणेश प्रधान निर्वाचित भएका छन्। महासचिवमा सन्दिप प्रधान, उपाध्यक्षमा सञ्जीव प्रधान, सह सचिवमा समशेर प्रधान र कोषाध्यक्षमा सुधा प्रधान निर्वाचित भएका छन्। राजेश प्रधान र सपन प्रधान सल्लाहकारमा मनोनित भएका छन् भने हाल थप ७ जना कार्यकारी सदस्यहरू पनि चयन भएका छन्।
नवनिर्वाचित महासचिव सन्दीप प्रधानले यो निकायले जनताको हित र जीवनका हरेक पक्षमा उत्थानका लागि इमान्दारीपूर्वक काम गर्ने बताएका छन्। यो निकायले सामाजिक कार्यमा बढी काम गर्ने र कसैलाई कमाउने मनसाय भए त्यसलाई गौण कुराको रुपमा राख्नुपर्छ भने। उनले छिट्टै आफ्नो काम थाल्ने र शहर क्षेत्रमा बसोबास गर्ने नेवारहरुको पक्षमा काम गर्नको निम्ति खरसाङ शहर समिति चाडै गठन गर्ने बताए। बैठकको अन्त्यमा केन्द्रीय कमिटीका अध्यक्ष सुनिल प्रधानले संघको कार्य सम्पादनको बारेमा संक्षिप्त जानकारी दिँदै नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिए।