‘अल्लु अर्जुन जेलबाट रिहा

00-1-Allu-Arjun-1

हैदराबाद: फिल्म ‘पुष्पा २’ को प्रिमियरको क्रममा भागदौडमा एक महिलाको मृत्युको आरोपमा पक्राउ परेका तेलुगु अभिनेता अल्लु अर्जुन तेलंगाना उच्च अदालतबाट अन्तरिम जमानत पाएपछि शनिबार जेलबाट रिहा भएका छन्। उच्च अदालतबाट राहत पाए पनि अल्लु अर्जुनले अबेर रातिसम्म जमानतको आदेशको प्रति अधिकारीलाई नपाउँदा शुक्रबार राति जेलमै बिताउनु पर्यो। “उनी रिहा भएका छन्,” अल्लु अर्जुनका वकिल अशोक रेड्डीले चञ्चलगुडा जेल बाहिर पत्रकारहरूलाई भनेl अल्लु अर्जुन (४२) आफ्नो घर गए, जहाँ उनी आफ्नो परिवारका सदस्यहरूलाई अँगालो हालेको देखिए। रेड्डीले उच्च अदालतको आदेशको प्रतिलिपि पाए पनि जेल प्रशासनले अल्लु अर्जुनलाई रिहा नगरेको आरोप लगाए। रेड्डीले भने, ‘‘तपाईले सरकार र विभागलाई सोध्नु पर्छ अर्जुनलाई किन रिहा गरेनन्? उच्च अदालतको आदेश एकदमै स्पष्ट छ। तपाईं (कारागार अधिकारी) आदेश प्राप्त हुनेबित्तिकै उनीहरूलाई तुरुन्त रिहा गर्नुपर्छ। स्पष्ट आदेश दिए पनि रिहा गरेनन्, जवाफ दिनुपर्छ। यो गैरकानुनी हिरासत हो। हामी कानुनी कारबाही गर्छौं।‘’ उनले भने, ‘’अर्जुनलाई ‘विशेष श्रेणीको बन्दी’ बनाएर जेलमा राखिएको थियो। अल्लु अर्जुनलाई शुक्रबार बिहान उनकै निवासबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई स्थानीय अदालतमा पेश गरिएको थियो, जहाँबाट उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको थियो। तर, उनका वकिलले उच्च अदालत पुगेका थिए, र अल्लु अर्जुनले अन्तरिम जमानत पाए। ४ दिसम्बर राति ‘पुष्पा २: द रुल’ को प्रिमियरमा अल्लु अर्जुनको झलक हेर्न सन्ध्या थिएटरमा फ्यानहरूको ठूलो भीड लागेको थियो। सोही भागदौडमा ३५ वर्षीया महिला रेवतीको मृत्यु भएको थियो भने उनका आठ वर्षीय छोरा घाइते भएका थिए। हैदरावाद पुलिसले महिलाको परिवारले दर्ता गरेको उजुरीको आधारमा चिक्कडपल्ली पुलिस स्टेशनमा भारतीय न्याय संहिता (बीएनएस) को धारा १०५ र ११८ (१) अन्तर्गत अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापन विरुद्ध मुद्दा दर्ता गरेको छ। यसैबीच, उनको रिहाइपछि प्रशंसकहरूको भीड जम्मा हुने सम्भावनालाई ध्यानमा राख्दै पुलिसले अभिनेताको शहर निवास बाहिर सुरक्षा बढाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement