ब्रिसबेन: भारत र अष्ट्रेलियाबीच जारी बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत तेस्रो टेस्ट म्याचको पहिलो दिन केवल १३.२ ओभरको खेल हुन सक्यो। लगातार वर्षाले गर्दा म्याच ढिलो गरी शुरु भयो। म्याच शुरु भएको केही समयपछि फेरि वर्षा शुरु हुँदा स्टेडियममा उपस्थिति दर्शकहरू निराश भएर घर फर्किनु पऱ्यो। शनिवार पहिलो दिनको खेल समाप्त हुँदासम्म अष्ट्रेलियाले आफ्नो पहिलो ईनिंग्समा कुनै विकेट नगुमाइ २८ रन बनायो। उस्मान ख्वाजा १९ र नाथन म्याकस्वीनी ४ रनमा अविजित रहे। आज भारतीय टीमलाई दुईवटा फेरबदलको साथ मैदानमा देखियो। पेस बलर हर्षित राणाको स्थानमा आकाश दीप अनि स्पिन अलराउण्डर रविचन्द्रन अश्विनको स्थानमा रविन्द्र जडेजालाई तेस्रो टेस्टको प्रथम एकादशमा सामेल गरियो। यसरी अष्ट्रेलियाई टीममा पनि चोटमुक्त जोश हेजलवुड टीममा फर्किए।

बादलले ढाकिएको आकाश र हरियो पीच देखेर भारतीय कप्तान रोहित शर्माले पहिलो बलिंग गर्ने फसेला गरे। म्याचको पहिलो दिन रोहितले जसप्रीत बुमराह, मोहम्मद सिराज र आकाश दीपको रूपमा तीनजना पेस बलर प्रयोग गरे पनि भारतलाई १३.२ ओभरको खेलमा कुनै सफलता हासिल भएन।