गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वास्थ्य मन्त्री जी टी ढुङ्गेलको उपस्थितिमा आज मिन्तोकगाङमा वृद्धहरूका लागि नेशलन प्रोग्राम फर हेल्थ केयर अफ् एल्डरली (एनपीएचसीई) शुरु गरेका छन्। यस कार्यक्रमको उद्देश्य सक्रिय र स्वस्थ वृद्धावस्थालाई प्रोत्साहन गर्दै वरिष्ठ नागरिकहरू र सेवानिवृत्त व्यक्तिहरूका लागि किफायती र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु रहेको छ। प्रमुख पहलहरूमा एसटीएनएम अस्पतालमा २० शैय्याको जेरियाट्रिक वार्ड र सबै जिल्ला अस्पतालहरूमा १० शैय्याको वार्डहरूको स्थापना, विशेष ओपीडीहरू, र चस्मा, सुन्ने यन्त्र, र ह्वीलचेयर जस्ता चल्ने सहायक उपकरणहरूको वितरण समावेश छ। कार्यक्रमले ज्येष्ठ नागरिकहरूको हेरचाहमा स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण दिने, स्वास्थ्य शिविरहरू आयोजना गर्ने, घरमै आधारित हेरचाह र टेलीकन्सल्टेसन सेवा प्रदान गर्ने कुरामा पनि ध्यान केन्द्रित गर्दछ। समुदायमा सचेतना र हेरचाहकर्ता प्रशिक्षण स्वस्थ वृद्धावस्थालाई प्रोत्साहित गर्न महत्त्वपूर्ण छन्। ‘यस पहलले सिक्किमका ज्येष्ठ नागरिक र सेवानिवृत्त जनसंख्याको आवश्यकतालाई समग्र दृष्टिकोणबाट सम्बोधन गर्दै उनीहरूको जीवनलाई स्वस्थ, खुशी र थप अर्थपूर्ण बनाउन सुनिश्चित गर्दछ’, मुख्यमन्त्रीले साझा गरे। -आईपीआर