सिलगढी: शहरमा बढ्दै गएको अपराध र त्यसलाई रोक्नका सिलगढी डीवाईएफआईले सिलगढी पुलिस कमिश्नरेटतर्फ अभियान आयोजना गर्ने भएको छ। जिल्ला डीवाईएफआईका संयुक्त सचिव सागर शर्माले शुक्रबार सिलगढीको अनिल विश्वास भवनमा पत्रकार सम्मेलनमार्फत अभियानको जानकारी दिएका छन्। उनले भने, ‘१६ दिसम्बरमा सिलगढीको एयरभ्यू मोडमा डीवाईएफआईका सदस्यहरू भेला हुनेछन र त्यहाँबाट सिलगढी पुलिस कमिश्नरेटतर्फ प्रस्थान गर्नेछन्।‘ यस दिनको पत्रकार सम्मेलनमा सम्पादकीय बोर्डका सदस्य बुलेट सिंह पनि उपस्थित थिए। उनले भने, ‘यो अभियान मुख्य रूपमा राज्यभरमा पुलिसको निर्ममता, सिलगढी शहरमा आपराधिक गतिविधि निरन्तर बढ्दै गएको र त्यसलाई रोक्नमा पुलिस असफल भएको विषयलाई लिएर निकाल्न लागिएको हो।‘ डीवाईएफआईका संयुक्त सचिव सागर शर्माले जानकारी दिएअनुसार, यो अभियान कुल ६ बुँदे मागलाई लिएर गरिंदैछ।