मन्त्री भोजराज राईले गरे पुस्तकालयको उद्घाटन

IMG-20241212-WA0260

गान्तोक: राज्यका शहरी विकास विभाग मन्त्री एवं क्षेत्र विधायक भोजराज राईले आज दक्षिण जिल्लाको चिसोपानीमा छितिज छेत्रीद्वारा निर्माण गरिएको पुस्तकालयको उदघाटन गरे। यसै क्रममा हिमालय ग्रेस एकादमीको वार्षिक कार्यक्रममा पनि मन्त्री राईले सहभागिता जनाए। यस अवसरमा मुख्य अतिथिकोरूपमा मन्त्री भोजराज राई रहेका थिए भने विशिष्ट अतिथिमा साहित्यकार थिरू प्रसाद नेपाल रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यहाँ सुगन्ध भन्दा अधिक दुर्गन्ध फैलिएको ठाउँमा पुस्तकालय स्थापना गर्नु भनेको ठूलो कुरा रहेको बताए। अहिलेका युवा पुस्ताहरू पुस्तक भन्दा अधिक मोबाइल हेरेर समय बिताउने गरेको अवगत गराए। अहिलेको समयमा सबै जना आफ्नो स्वार्थको निम्ति काम गर्दै आइरहेका छन्, तर यस्तो समयमा छितिजले पुस्तकालय निर्माण गर्दै आफ्नो आमाको नाममा राखेकोमा उनले खुशी प्रकट गरे। उनले यस पुस्तकालयबाट स्थानीय विद्यार्थीहरूले लाभ उठाउनु पर्ने र यसको संरक्षणको निम्ति अब समाज अघि आउनु पर्ने आग्रह गरे। पुस्तकालयमा आउनाले ज्ञान हासिल गर्नको साथै अध्ययन गर्ने वानी बस्ने बताए। राज्य बाहिरका मानिसहरूले बनाएको लाइसेन्स अब रद्द गर्ने दावी गरे।यसको निम्ति स्थानीयहरूले लाइसेन्स निकालेर सबलेट नगरेमा अवश्य पनि अनुप्रवेशकारीको संख्यामा पनि कमी आउने बताए।यसर्थ सिक्किम बचाउँछु र राम्रो बनाउँछु भन्ने सोंच लिएर काम गरेमा अवश्य पनि सिक्किम एक दिन राम्रो हुने किटान गरे। उनले राज्यका शिक्षित युवाहरूलाई सरकारी नौकरी मात्र होइन व्यवसायमा पनि ध्यान दिनुपर्ने आग्रह गरे।
यसै क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै क्रममा साहित्यकार थिरू प्रसाद नेपालले सानो उमेरमा नै छितिज छेत्रीले यस गाउँमा पुस्तकालयको निर्माण गरेर एक उदाहरणीय काम गरेको बताए। उनले जानकारी गराए अनुसार छेत्रीले पुस्तकालयको निर्माण गरेर युवाहरूलाई पनि प्रेरित गर्नेछ। विशेष गरेर वर्तमान परिवेशमा युवाहरू बाटो बिराएर अलमल्लिरहेको समयमा छेत्रीले पुस्तकालय खोलेर उनीहरूलाई पनि एक सकारात्मक सन्देश दिएको जानकारी गराए।
सोही प्रकारले पुस्तकालय निर्माणकर्ता छितिज छेत्रीले यस पुस्तकालय निर्माणको निम्ति वर्ष २०१८ देखि नै पहल शुरू गरेको र यसको निम्ति सबैतिरबाट सहयोग प्राप्त भएको बताए। विशेष गरेर राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ र उनकी धर्मपत्नी कृष्ण राईले पनि सहयोग पुऱ्याएको जानकारी गराए। यस पुस्तकालयमा सिक्किमदेखि बाहिरबाट पनि धेरै पुस्तकहरू उपलब्ध गराएकोमा उनले खुशी प्रकट गरे। आजको दिन आफ्नो निम्ति ऐतिहासिक दिन रहेको बताए। सानैदेखि आफू पुस्तकप्रेमी रहेको कारण पनि यस प्रकारको पहल शुरू गरेको जानकारी गराए। विशेष गरेर कलेज पढदा पुस्तकको अभाव आफूले महसुस गरेको हुनाले भावी पीढिले उक्त समस्या भोग्न नपरोस् भनेर पुस्तकालय निर्माण गरेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement