गान्तोक: सरकारी पाठशालामा अध्ययनरत् विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै हिमालयन फ्रि चर्च याङगाङको विशेष पहलमा लोवर राङगाङ निम्न माध्यमिक पाठशालामा निर्मित हात धुने कक्षाको आज विधिवत् उद्घाटन गरिएको छ। स्थानीय जिल्ला पञ्चायत सदस्य लिला कुमारी राईको मुख्य आतिथ्यमा विद्यालय प्रबन्धन समितिका सदस्य एवं हिमालयन फ्रि चर्च याङगाङका अध्यक्ष सुश्री जेनिथ के. राई, पाष्टरलगायत कार्यकारी समितिका सदस्यहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न भयो।
हिमालयन फ्रि चर्च याङगाङ प्रार्थनामा मात्र सीमित नरहेर यस्ता अनेकौँ सामाजिक कार्यहरुमा सधैँ अघि बढ्ने एक धार्मिक संस्था हो। उक्त पूर्वाधारको निर्माणको लागत खर्च ७७ हजार ४३० रूपियाँ रहेको छ भने उक्त राशि चर्चका सदस्यहरुबाट सङ्ग्रह गरिएको थियो। यस संस्थाले कुनै जाति धर्म र समुदायविशेष नभनी आर्थिक रूपमा कमजोर रहेका मानिसहरूलाई सेवा पुऱ्याउँदै आइरहेको दावी गर्दै भविष्यमा अझ बढी सामाजिक कार्यहरूमा योगदान दिँदै जाने प्रतिबद्धता जाहेर गरेको छ।