कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा इलेवेन स्टार असमले रोमाञ्चक जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा बिहीवार भएको दोस्रो क्वार्टर फाइनल म्याचमा इलेवेन स्टार असमले फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम)-विरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यसमा सिक्किमको टीमबाट नोएलले अनि असमको टीमबाट नुआनले गोल गरे। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।









