खरसाङ: हिल तराई प्राथमिक शिक्षक संगठन तीनधारे क्षेत्रीय सर्कलको आयोजनामा तीनधारे क्षेत्रमा रहेका प्राथमिक पाठशालाहरुका विद्यार्थीहरुलाई लिएर खेलकूद कार्यक्रम आयोजना गरिएको छ।तीनधारेको मिठाईडाँडास्थित खेल मैदानमा आयोजित उक्त खेलकूद कार्यक्रमको अध्यक्षता पूर्व शिक्षक बीबी गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान एंव प्राथमिक शिक्षा विभागका कार्यकारी सभासद राजेस चौहान उपस्थित रहेका थिए। विशिष्ट अतिथिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, एसआई अफ् स्कूल अविनाश शर्मा लगायत अन्यहरु उपस्थित रहेका थिए। यस खेलकूद कार्यक्रममा स्वागत सम्भाषण नेताजी प्राथमिक पाठशालाको शिक्षक राजेस गुरुङले राखेका थिए भने कार्यक्रमलाई शिक्षकहरु क्रमैले संग्राममणि वाईबा र अनिल तामाङले सञ्चालन गरेका थिए। यस खेलकूद कार्यक्रममा तीनधारे क्षेत्रमा रहेका प्राथमिक पाठशालाहरुका विद्यार्थीहरुलाई लिएर विभिन्न खेलकूदहरु प्रतियोगिताको रुपमा खेलाइएको थियो। विभिन्न खेलहरुमा पचास मीटरको दौड, एक सय मीटरको दौड, रिले रेस, वन रेस, पोट्याटो रेस, पजल गेम, अन्जतभेशन गेम, बेलुन रेस आदि खेलाइएको थियो। उक्त प्रतियोगितामूलक खेलहरुमा निर्णायकको रुपमा पेमा लामा, सुकराज छेत्री, दिवाकर राई, पूर्व शिक्षक उत्तम गिरी उपस्थित रहेका थिए। यस प्रतियोगितामूलक खेलहरुमा पहिलो,दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पारितोषिक वितरण गरिएको थियो। यस खेलकूद कार्यक्रम अन्तर्गत नेताजी प्राथमिक पाठशालाको विद्यार्थीहरुले मार्च पास्ट प्रस्तुत गरेका थिए भने नरबुङ प्राथमिक पाठशालाका नानीहरुले ड्रिल प्रस्तुत गरेका थिए। यस खेलकूद कार्यक्रममा विद्यार्थी नानीहरुलाई टि सर्टहरु वितरण गरिएको छ।कार्यक्रममा विशिष्ट अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको युवा मामिला अनि खेलकूद विभागको एमओडी सभासद एंव क्षेत्रीय सभासद नवराज छेत्रीले आगामी वर्षदेखि तीनधारे महानदी समष्टिभित्र पर्ने सम्पूर्ण प्राथमिक पाठशालाहरुका विद्यार्थीहरुलाई लिएर वार्षिक रुपमा खेलकूद, सांगीतिक, सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने बताउँदै उक्त कार्यक्रममा विद्यार्थीहरु र अभिभावकहरुलाई उपस्थित भईदिने अनुरोध गरेका छन्।

उनले यस्ता खेलकूद कार्यक्रममा विद्यार्थी नानीहरुले प्रस्तुत गरेका विभिन्न खेलकूदहरुलाई अभिभावकहरु पनि उपस्थित भएर हेर्नु पर्ने सुझाव दिन्दै अभिभावकहरु उपस्थित भईदिनेमा विद्यार्थीहरुलाई धेरै प्रोत्साहन हुने बताएका छन्। यस खेलकूद कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जिल्ला प्राथमिक पाठशाला परिषदको सदस्यहरु विशाल शर्मा, शान्ता तामाङ, राजेस थापा, घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा, अभिजित छेत्री, पूर्व शिक्षकहरु प्रकाशमणि प्रधान, प्रकाश रामुदामु, नारायण राई साथै अन्यहरु उपस्थित रहेका थिए।