राजगञ्ज: पुलिस थानाभित्र नै युवकको रहस्यमय मृत्यु भएको घटना बाहिर आएको छ। मदारीहाट थानाको चाइल्ड केयर कार्नरको बाथरुमबाट युवकको झुन्डिएको अवस्थामा शव फेला परेको छ। उक्त घटनालाई लिएर इलाकामा निक्कै सनसनी फैलिएको छ। मृतक युवक जलपाईगढ़ी जिल्लाको राजगन्ज ब्लकको चेउलीबाड़ी छट मयलानीगछ निवासी राहुल राय (२०) हो।
पुलिस सूत्रले दिएको जानकारी अनुसार, मादारीहाट थानामा एकजना युवक हराएको घटनामा सोधखोज गर्न चार जना युवकलाई मङ्गलबार राति थानामा ल्याइएको थियो। तीमध्ये राहुल राय पनि थिए। राति सोधसोध गरेपछि उनीहरूलाई थानामा चाइल्ड केयर कार्नरमा राखिएको थियो। बुधवार बिहान सो कोठाको बाथरुमको भेन्टिलेटरमा घाँटीमा पासो लगाएको अवस्थामा राहुलको शव फेला परेको भेटिए।
घटनाको जानकारी पाएपछि मदारीहाट थानामा मृतक युवकको परिवारका सदस्यहरू पुगेका थिए। मृतकको परिवारका सदस्यले बताए अनुसार, राहुल मेकअप आर्टिस्टको काम गर्थे। त्यस अतिरिक्त उनी आफूलाई महिला जस्तो सजाउन पनि मन पराउँथे। कोचबिहार जानको लागि उनी आइतबार घरबाट निस्केका थिए। मंगलवारसम्म परिवारसँग उनको फोनमा कुरा भएको थियो तर बुधवार मदारीहाट थानाबाट राहुलको झुन्डिएको शव फेला परेको कुरा थाहा पाए। पुलिस हिरासतमा हुँदा कसरी उनको मृत्यु भयो भन्ने परिवारका सदस्य जनले प्रश्न उठाएका छन्। यस घटनाको उच्च स्तरीय जाँच गरिनु पर्ने परिवार पक्षले माग गरेका छन्। आज कोचबिहार मेडिकल कलेजमा एक मेडिकल बोर्ड गठन गरेर मृतकको शवको पोस्टमार्टम गरिने भएको छ।