जापानको राजधानी टोक्योमा जन्मदर सुधार गर्न नयाँ पहल शुरु भएको छ। आउँदो वर्षदेखि कार्यालयमा चार कार्य दिनको नियम लागु हुने भएको छ। अब मानिसहरूले हप्तामा चार दिन मात्र काम गर्नुपर्छ, तीन दिन विदा पाउने छन्। टोक्योका गवर्नर युरिको कोइकेले अर्को वर्ष अप्रेलदेखि कर्मचारीहरूले हप्तामा तीन दिन बिदा लिने विकल्प पाउने घोषणा गरेका छन्। पछिल्ला केही वर्षहरूमा मानिसहरू आफ्ना छोराछोरीको पालनपोषणका कारण आफ्नो करियर बीचमा छोड्न बाध्य छन्। सन्तान नहुनुको प्रमुख कारण यो पनि मानिन्छ। पछिल्ला केही वर्षको नीतिका कारण देशको प्रजनन दरमा उल्लेख्य गिरावट आएको छ। यसलाई सुधार गर्न स्थानीय प्रशासनले धेरै नयाँ तरिका अपनाइरहेको छ। गवर्नर कोइकेले भने, “यस अवधिमा हामीले काम गर्ने तरिकामा लचकता ल्याउनेछौं र नानी जन्माउँदा वा हेरचाह गर्दा कसैले पनि आफ्नो पेशा छोड्न नपरोस् भन्ने सुनिश्चित गर्नेछौं। यस पहलले जापानीहरूमा नानी जन्माउने जोडीहरूलाई प्रोत्साहन गर्न मद्दत गर्नेछ।” टोक्यो प्रशासनका अनुसार, यो योजना ती अभिभावकहरूका लागि पनि उपयोगी हुनेछ जसका नानीहरू प्राथमिक विद्यालयमा छन्, उनीहरूले कम काम गर्ने विकल्प पाउनेछन्, जसले उनीहरूको तलबमा पनि सन्तुलित कटौती गर्नेछ। गत वर्ष जापानमा मात्रै ७ लाख २७ हजार २७७ जना जन्मिएका थिए। यो कमी भनेको देशको ओभरटाइम काम संस्कृतिको परिणाम हो, जसले महिलाहरूलाई करियर र परिवारको बीचमा छनौट गर्न बाध्य पार्छ। विश्व ब्यांकको तथ्यांकअनुसार जापानमा लैङ्गिक रोजगारी असमानता अन्य धनी राष्ट्रहरूको तुलनामा बढी छ, जसमा महिलाको सहभागिता ५५ प्रतिशत र पुरुषको ७२ प्रतिशत रहेको छ।