गान्तोक: बंगलादेशमा हिन्दू अल्पसंख्यकहरूमाथि भइरहेको अत्याचार र भारतको राष्ट्रिय झण्डाको अपमान गरिएको विरोधमा सिक्किममा पनि विरोधको स्वर उठेको छ। सिक्किम सनातन संगठनले आज गान्तोकको इन्दिरा बाइपासदेखि जिल्ला प्रशासन केन्द्र परिसरसम्म लगभग दुई सय समर्थकहरूको साथमा विरोध जुलुस निकाल्यो। बंगलादेशको वर्तमान अवस्थाको मुख्य कारक तत्व जर्ज सोरोज रहेको आरोप लगाउँदै संगठनका सदस्यहरूले प्रतिवाद तीब्र रूपमा गरेका छन्। यसैगरि बंगलादेशका राष्ट्रपति महोम्मद शाहबुद्धिन अनि अन्तरमि सरकारको मुख्य सल्लाहकार मोहम्मद युनुस नोबल शान्ति पुरस्कार पाएका व्यक्ति भएर पनि अल्पसंख्यक हिन्दूहरूप्रति नकरात्मक भएको टिप्पणी गर्दै शाहबुद्धिन र युनुसको विरोधमा जोडतोडले नारा लगाउँदै प्रतिवाद गरे। अल्पसंख्यक हिन्दू माथिको अत्याचार र भारतको राष्ट्रिय झण्डालाई अपमान गरेको विरोधमा सिक्किमका अतिरिक्त मुख्य सचिव आर तेलाङलाई टासिलिङ सचिवालय पुगेर एउटा ज्ञापन पक्ष पनि सुम्पिएको छ।

प्रवक्ता सोमनाथ पाण्डे, महासचिव नारायण घिमिरे र विनोद अधिकारीले संयुक्त प्रेस बयान जारी गर्दै सिक्किममा बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट बसाई सरेर आउने मुस्लिम समुदायको कारण सिक्किमको रैथाने मानिसहरूको अस्तित्व संकटमा पर्ने भएको ज्ञापनमा उल्लेख गरिएको छ। सिक्किम प्रवेश गरेका मुस्लिम समुदायले व्यापारको लाइसेन्स बनाएर ग्यारेज, पसल, ट्याक्सी र अन्य रोजगार चलाइरहेको तथा लाइसेन्स सबलेट गरिने मामिला पनि रहेको कुरा ध्यान आकर्षण गराएको छ। यसैगरि बसाइ सरेर आएका मुस्लिमहरूले सिस्टमको कमजोरीको फाइदा उठाएर सजिलै मतदान परिचय पत्र बनाउने गरेका पनि संगठनले आरोप लगाएको छ। सिक्किममा यस्तो सम्वेदनशील कुरा भइरहेमा थोरै रैथानेहरूको बसोबासो रहेको सानो सिक्किमको चिन्हारी संकटमा पर्ने संगठनको ठम्याइरहेको छ। यसै गरि कुनै विस्तृत जानकारी बिना बास दिने तथा सहयोग गर्नेहरू विरूद्ध कडा कार्वाही हुनुपर्ने माग पनि गरिएको छ।