नक्सलबारी: विभिन्न मागलाई लिएर नक्सलबारी ब्लक काङ्ग्रेस समितिले आज नक्सलबारीको बीएलएलआरओ कार्यालय परिसरमा विरोध प्रदर्शन गरेको छ। बीएलएलआरओ कार्यालयमा नगद नारायण नदिइ कुनै काम हुँदैन, दलालहरुको संजालले भूमि राजस्व विभाग भरिएको छ, जसको फलस्वरूप अवैध रूपमा जमिनको नक्सा परिवर्तन गरिँदैछ भन्ने जस्ता विभिन्न गम्भीर आरोप लगाइएको छ। यसको अतिरिक्त कुनै पनि काम गर्नका लागि नयाँ बीएलएलआरओ-ले एक लाख नगदको माग गर्ने गरेको र क्षेत्रीय स्तरमा बालुवा खनन् कार्यको अवैध काम भइरहेको तर विभागले कुनै चासो नदेखाएको आरोप लगाइएको छ। यी सबै आरोपलाई लिएर बुधबार नक्सलबारी ब्लक काङ्ग्रेस कार्यालयबाट बीएलएलआरओ कार्यालयसम्म विरोध रैली निस्किएको थियो। सो क्रममा बीएलएलआरओ कार्यालय परिसरमा विरोध प्रदर्शन गरिनुका साथै काङ्ग्रेस नेताहरूले ज्ञापन पत्र समेत बुझाएका थिए।











