खरसाङ: तीनधारेको मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका प्रभारी सपना जिम्बाको निधन भएको छ। उनको निधन बुधवार बिहान २ बजेतिर ५७ वर्षको उमेरमा सालबारीस्थित घरमा निधन भएको छ। उनी गत केही समयदेखि क्यान्सर रोगले ग्रसित थिइन्। उनले आफुपछि पति अमूल्य घिसिङ र छोरीलाई छोडी गएकी छन्। उनको अन्तिम संस्कार आगामी शुक्रबार सालबारीस्थित निजी वासस्थानमा गरिने भएको छ। प्राप्त जानकारी अनुसार शिक्षिका सपना जिम्बाको जन्म १९ अक्टोबर सन् १९६७ मा भएको थियो। उनी तीनधारेको मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालयमा शिक्षिकाको रुपमा १२ जून १९९४ सालमा नियुक्त भएकी थिइन्। उनले २०२१ सालदेखि मिठाईडाँडा रेणुका कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका प्रभारीको रुपमा कार्यरत थिइन्। विद्यालयकी शिक्षिका प्रभारी सपना जिम्बाको निधनले विद्यालय परिवारमा शोकको लहर छाएको छ। शिक्षिका प्रभारी सपना जिम्बाको निधनको खबर पाएपछि विद्यालयमा शिक्षिकाहरु र विद्यार्थीहरु मिलेर शोक सभा आयोजना गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ। उक्त शोक सभापछि विद्यालयकी वर्तमान शिक्षिका प्रभारी अनुपमा दियाली देवानको अगुवाईमा शिक्षिकाहरु र विद्यार्थीहरु सालबारी पुगेर शिक्षिका प्रभारी सपना जिम्बालाई विद्यालय परिवारको पक्षबाट श्रध्दाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ। शिक्षिका प्रभारी सपना जिम्बाको निधनले विद्यालयलाई ठूलो क्षति पुगेको बताइएको छ भने उनको निधनले तीनधारे क्षेत्रको शिक्षा क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताइएको छ। रेणुका कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका प्रभारी सपना जिम्बाको निधनमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको तर्फबाट पनि श्रध्दाञ्जली अर्पण गरिएको जानकारी शिक्षक देवेन मंगरले दिएका छन्।