मंगन: मंगन जिल्लाको महिला एवम् बाल विकास विभाग अन्तर्गत सञ्चालित जिल्ला बाल संरक्षण युनिटको पहलमा आज मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा लैङ्गिक आधारित हिंसा उन्मूलन र बाल अधिकार प्रवर्द्धन सम्बन्धी सचेतना अभियान आयोजना गरियो।
कार्यक्रममा जिल्लापाल अन्नत जैन प्रमुख अतिथिकोरूपमा उपस्थित रहेका थिए भने अतिरिक्त जिल्लापाल पेमा वाङछेन नामकर्पा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल जैनले जिल्लामा उत्पीडनका घटनामा कमी आएको उजागर गर्दै महिला अधिकारको संरक्षणको महत्त्वमाथि जोड दिए। उनले महिलाहरूको संरक्षण सुनिश्चित गर्न पञ्चायतको महत्वपूर्ण भूमिका हुनुपर्ने अवगत गराए।
सोही क्रममा पुलिस अधीक्षक मणि कुमार तामाङले यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) ऐनको महत्त्वमा प्रकाश पार्दै बालबालिकाको अधिकारको संरक्षण र सुरक्षा प्रवर्द्धन गर्न समुदायलाई सचेत रहन आग्रह गरे।
सोही प्रकारले डीसीपीओ वेन्डी एम. लेप्चा बाल संरक्षणमाथि बोल्दै बाल अधिकार साथै उनीहरूको पालनपोषणको बारेमा जानकारी दिइन्। यसरी नै ओएससीकी केन्द्र प्रशासक सोनाम फुटी भोटियाले लैङ्गिक हिंसामाथि सम्बोधन गर्दै शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र आर्थिक हिंसा लगायत असमानता, भेदभाव र दुर्व्यवहारका रूपहरू जस्ता विभिन्न विषयहरूमाथि प्रकाश पारिन्।
सोही प्रकारले एलओपीओ सिंङ्गी डाडुल लाचुङपाले पोक्सो ऐन र लैङ्गिक तटस्थ ऐनका प्रावधानहरूमाथि अवगत गराए। उनले यस विषयमाथि सचेतना जगाउन र सबै व्यक्तिलाई कानूनको समान संरक्षण सुनिश्चित गर्ने महत्त्वमा जोड दिए। सोही प्रकारले अतिरिक्त जिल्लापाल पेमा वाङछेन नामकर्पाले पोक्सोका मुद्दाहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस्ता समस्याहरूलाई खुला रूपमा सम्बोधन गर्न जनताको बढ्दो सहभागिता हुनु पर्ने विषयमा प्रकाश पारे।