गान्तोक: परम पावन १४औं दलाई लामालाई प्रदान गरिएको नोबेल शान्ति पुरस्कारको ३५औं वार्षिकोत्सवको उपलक्ष्यमा आज गान्तोकको नामनामस्थित छोकासुम हलमा एक कार्यक्रम आयोजना गरियो।
यस अवसरमा सिक्किम सरकारको ग्राम प्रबन्धन एवं सहकारिता विभागका मन्त्री अरुण कुमार उप्रेती मुख्य अतिथिको रूपमा सहभागी बने। कार्यक्रमको आयोजना उत्साङ संघ र तिब्बती कल्याण कार्यालय, गान्तोकले गरेको थियो।
सन् १९८९ मा नोबेल शान्ति पुरस्कार समितिले परम पावन १४औं दलाई लामालाई नोबेल शान्ति पुरस्कारले सम्मानित गरेको ३५औं वार्षिकोत्सवको अवसरमा यो दिवस पालन गरिएको बताइएको छ। आजको दिनलाई विश्वभर मानव अधिकार दिवसको रुपमा पनि मनाइन्छ। सन् १९८९ मा तिब्बतीहरूका सबैभन्दा प्रिय आध्यात्मिक नेता परम पावन १४औं दलाई लामालाई चीनको तिब्बतमाथिको दमनप्रति सत्य र अहिंसात्मक दृष्टिकोणका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।
मन्त्री अरूण उप्रेतीले आजको यस कार्यक्रममा आफु उपस्थित हुन पाएकोमा खुशी व्यक्त गर्दै निमन्त्रणाका लागि आयोजक पक्षप्रति हार्दिक आभार व्यक्त गरेका छन्।