मणिपुर: मणिपुरको इम्फालमा हजारौं प्रदर्शनकारीहरूले मंगलबार १० दिसम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउनका लागि भेला भएर सशस्त्र बल विशेषाधिकार ऐन (एएफएसपीए), १९५८ हटाउन माग गरे। प्रदर्शनकारीहरूले मानव अधिकारहरूको संरक्षण बढाउन र राज्यमा सशस्त्र अपराधीहरूविरुद्ध निर्णायक कदम चाल्न पनि माग गरे। जुलुस इम्फाल पश्चिम जिल्लाको थाङमेइबन्द थाउ ग्राउण्डबाट शुरु भएर इम्फाल सिटी मार्केट र ख्वाइरमबन्द कीथेल जस्ता मुख्य स्थानहरू हुँदै खुमान लम्पकमा समाप्त भयो। प्रदर्शनकारीहरूले ‘अफ्स्पा (एएफएसपीए) हटाउ, अफ्स्पा खारेज गर’ र ‘आत्मनिर्णय हाम्रो जन्मसिद्ध अधिकार हो’ जस्ता नारा लगाए। यस विरोध प्रदर्शनको नेतृत्व अल मणिपुर युनाइटेड क्लब्स अर्गनाइजेसन (एएमयुसीओ) ले गरेको थियो, जसमा पाँच नागरिक समाजका समूहहरूले सहभागीता जनाएका थिए। ती समूहहरूमा पोइरेई लिमारोल मीरा पैबी अपुनबा मणिपुर, अल मणिपुर महिला स्वैच्छिक संघ, मानव अधिकार समिति (सीओएचआर) र मणिपुर विद्यार्थी संघजस्ता प्रमुख संगठनहरू समावेश थिए। कार्यक्रममा बोल्दै एमएमयुसीओका अध्यक्ष नाण्डो लुवाङले जोड दिँदै भने, ‘जुलुस मणिपुरका पाँच जिल्लामा रहेका ६ वटा पुलिस थानाको अधिकार क्षेत्रभित्र लागू गरिएको एएफएसपीएको विरोधमा आयोजित गरिएको हो। यस प्रदर्शनले राज्यमा जारी जातीय हिंसालाई पनि उजागर गर्यो। यो हिंसा गत वर्ष मे महिनामा इम्फाल उपत्यकामा मेइती समुदाय र वरिपरिका पहाडहरूमा रहेका कुकी-जो समुदायहरू बीचको झडपपछि शुरु भएको थियो। यसले २५० भन्दा बढी व्यक्तिको ज्यान लिएको भने हजारौंलाई विस्थापित गरेको छ।