घैयाबारीमा नगदराशि फुटबल टुर्नामेन्ट शुरु: उदघाटन खेलमा उदय संघ घैयाबारी बिजय

photocollage_2024121019514383

खरसाङ: युनाइटेड घैयाबारी स्पोटर्स एसोसिएसनको आयोजनामा मंगलबारदेखि घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा फुटबल टुर्नामेन्ट शुरु भएको छ। उक्त टुर्नामेन्टको उदघाटन खेल आज उदय संघ घैयाबारी र लक्की सेभेन हिमाली बोइस खरसाङमाझ सम्पन्न भएको छ। उक्त खेलमा घैयाबारीले शुरुमा नै गोल गरेर बढत बनाएको थियो। त्यसपछि पनि अर्को गोल गरेर पहिलो हाफमा नै २-० को बढत बनाएको थियो जुन खेलको अन्तिमसम्म पनि कायम रहेपछि उदय संघ घैयाबारीले २-० ले खेल जितेर दोस्रो चरणमा‌ प्रवेश गरेको छ। यस उदघाटन खेलमा अधिकांश समय उदय संघको खेलाडीहरुको खुट्टामा रहेको थियो। खेल हेर्दा धेरै गोल हुने सम्भावना देखिएको भए पनि लक्की सेभेन हिमाली बोइस खरसाङले राम्रो रक्षा गरेकोले केवल २-० को अन्तरले मात्र खेल जितेको छ। यस खेलमा मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको युवा मामिला अनि खेलकूद विभागको एमओडी सभासद नवराज छेत्री उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, खरसाङ खण्ड पञ्चायत समितिको शिक्षा अनि खेलकूद विभागको कर्माध्यक्ष वाङ्दी लामा, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, पञ्चायत समिति सदस्य कुसाङ लामा, नेताजी हाई स्कूलको प्रधान अध्यापक दिनेश प्रधान, नेताजी प्राथमिक पाठशालाको प्रधान अध्यापक बिजय गुरुङ, समाज कल्याण समिति घैयाबसरीको सभापति गोपाल प्रधान, पूर्व फुटबल खेलाडी रामे थापा लगायत अन्यहरु उपस्थित रहेका थिए। घैयाबारी स्पोटर्स एसोसिएसनको आयोजनामा आयोजित उक्त फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी २६ जनवरीमा हुने भएको छ। यस फुटबल टुर्नामेन्टमा जम्मा २२ वटा टिमहरुले सहभागिता जनाएका छन्। यस फुटबल टुर्नामेन्टमा विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि डेढ लाख रुपियाँ र उप विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि एक लाख रुपियाँ प्रदान गरिने भएको छ। यस फुटबल टुर्नामेन्टको भोलि ११ दिसेम्बरमा हुने खेल कट्टप्पा सेभेन रोहिणी र महानदीमाझ हुने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी स्पोटर्स एसोसिएसनको मूल सचिव शंकु खवासले आजदेखि घैयाबारीमा नगदराशि फुटबल टुर्नामेन्ट आयोजना भईरहेको र यसमा जम्मा २२ वटा टिमहरुले भाग लिएको बताएका छन्‌। उनले क्षेत्रीय सभासद, स्थानीय सरकार जीटीए र जीटीए प्रमुख अनित थापालाई अनुरोध गर्दै घैयाबारीमा खेल मैदान भएर गाडी कुद्नु पर्ने हुनाले खेल खेलाउन साथै नेताजी हाई स्कूल र नेताजी प्राथमिक पाठशालाको विद्यार्थी नानीहरुलाई हुने खतरालाई मध्यनजर राख्दै गाडी कुद्ने रोडलाई खेल मैदानदेखि अर्कोतिरबाट निकालिदिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement