नयाँ दिल्ली: ‘अहिलेसम्म मानवअधिकारमाथिको विमर्श ‘मानव’ केन्द्रित रहँदै आएको छ, किनभने उल्लङ्घनकर्ता मानवीय व्यक्ति नै मानिन्थ्यो। तर, कृत्रिम बुद्धिमत्ता (एआई) हाम्रो जीवनमा प्रवेश गरेसँगै ‘अपराधी कुनै गैर-मानव तर बुद्धिमान एजेण्ट’ पनि हुनसक्छ’, मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति द्रौपदी मुर्मुले यसो भनिन्l साइबर अपराध र जलवायु परिवर्तन मानवअधिकारका लागि नयाँ खतरा बनेको उनले बताइन्।
‘मानवअधिकार दिवस’ प्रत्येक वर्ष १० दिसम्बरमा मानवअधिकारको सार्वभौम घोषणा (युडीएचआर) को स्मरणमा मनाइन्छ, जुन १९४८ मा संयुक्त राष्ट्र महासभाद्वारा स्वीकृत र घोषणा गरिएको थियो। युडीएचआरले मानवअधिकारको संरक्षण र प्रवर्द्धनका लागि एक विश्वव्यापी मापदण्डका रूपमा काम गर्दछ। राष्ट्रपतिमे मुर्मुले भनिन्, ‘जब हामी भविष्यतर्फ अघि बढिरहेका छौं, हाम्रो अगाडि नयाँ चुनौतीहरू प्रस्तुत भइरहेका छन्। डिजिटल युग परिवर्तनकारी छ, तर यससँगै साइबर अपराध, ‘डीप फेक’, गोपनीयताको चिन्ता र गलत सूचनाको प्रसार जस्ता जटिल समस्या पनि देखा परेका छन्। यी चुनौतीहरूले सबैको अधिकार र सम्मानको सुरक्षा गर्ने एक सुरक्षित र समान डिजिटल वातावरणको महत्त्वलाई उजागर गर्दछ।’
राष्ट्रपति द्रौपदी मुर्मुले आफ्नो सम्बोधनमा एआई र मानव जीवनमा यसको प्रभावको पक्षबारे पनि चर्चा गरिन्। उनले भनिन्, ‘कृत्रिम बुद्धिमत्ता अहिले हाम्रो दैनिकीमा प्रवेश गरिसकेको छ र यसले धेरै समस्याको समाधान गरिरहेको छ, तर यसले धेरै नयाँ समस्या पनि सिर्जना गरेको छ। अहिलेसम्म मानवअधिकारमाथिको विमर्श ‘मानवीय स्वभाव’ केन्द्रित रहेको छ, किनभने उल्लङ्घनकर्ता मानव नै मानिन्थ्यो, जसमा करुणा र अपराधबोध जस्ता विविध मानवीय संवेदनाहरू हुन्थे।’ उनले भनिन्, ‘तर, एआईको आगमनसँगै ‘अपराधी कुनै गैर-मानव तर बुद्धिमान एजेण्ट’ पनि हुनसक्छ।’ म यो विषय तपाईंहरूको विचारका लागि छोड्न चाहन्छु।’ राष्ट्रपति मुर्मुले भनिन्, ‘जलवायु परिवर्तनको मुद्दाले पनि हामीलाई विश्वव्यापी रूपमा मानवअधिकारप्रतिको सोचमा पुनर्विचार गर्न बाध्य बनाएको छ।‘









