उदयपुर: उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ मा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य पाँचजना यात्रु घाइते भएका प्रहरीले जनाएको छ।
सदरमुकाम गाईघाटबाट लिम्चुङबुङको बराहतर्फ जाँदै गरेको ना १ च ३२६७ नम्बरको जीप लिम्चुङबुङ गाउँपालिका ३ स्थित तीनचोकेमा ब्रेक फेल भई सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी राजन चापागाईँका अनुसार दुर्घटनामा त्रियुगा नगरपालिका-१६ बस्ने वर्ष २६ का जीप चालक युवराज तामाङको घटनास्थलमै मृत्यु भएको हो। गाडीमा सवार पाँच यात्रु घाइते भएका छन्।
घाइते हुनेमा सोही लिम्चुङबुङ-४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का वर्ष ४७ का बलदीप राई, वर्ष ४१ की निललक्ष्मी राई र वर्ष ६२ की चरीमाया राई छन्।डीएसपी चापागाईँका अनुसार घाइतेलाई उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल गाईघाट लगिएको छ।