विर्तामोड़: झापाको बिर्तामोड नगरपालिकाका पूर्वनगर प्रमुख (पूर्वमेयर) ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन्। घरमा काम गर्न राखिएकी १७ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
बिर्तामोड-५ स्थित आफ्नै घरमा घरेलु कामदार राखेर पटक-पटक करणी गरेको आरोप शिवाकोटीमाथि छ। बालिकाको जाहेरीपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको हो ।झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका शिवाकोटीमाथि अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार पीडित किशोरीका बुवा छैनन्। आमा भारतमा छन्।
आमाले पनि दोस्रो विवाह गरेपछि शिवाकोटीले घरको काम गर्ने र पढाउने भन्दै बालिकालाई आफ्नो घरमा ल्याएका थिए। उनी प्राविधिक विषय पढिरहेकी थिइन्। शिवाकोटीबाट पटक–पटक बलात्कृत भएकी किशोरी कलेजबाट भागेर आमा भएको स्थान भारतको आसाम जान खोज्दा आफन्त नेपालको काँकडभिट्टामा रहेको टोलीले रोकेर सोधपुछ गरेको थियो। सोधपुछको क्रममा शारीरिक शोषण भएको खुलेको हो।
आफन्त नेपालले उद्दार गर्दा उनी कलेजको पोसाकमै थिइन्। त्यसपछि प्रहरीमा जाहेरी परेको थियो। शिवकोटी २०१७(बि. सं.२०७४) सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्दै बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए।