स्वतन्त्रता सेनानी सहिद दुर्गा मल्लको जीवनीमाथि आधारित नाटक बलिदान मञ्चन गरिने

IMG-20241209-WA0257

गान्तोक: देशको स्वतन्त्रता सङ्ग्राममा गोर्खा जातिले दिएको त्याग र बलिदानको सम्झना गराउँदै सिक्किम अकाडेमीले सहिद दुर्गा मल्लको जीवनीमाथि आधारित नाटक मञ्चन गर्ने भएको छ। नाटककार एवं निर्देशक चुनिलाल घिमिरेद्वारा लिखित अनि निर्देशित नाटक बलिदान आगामी १५ दिसम्बरको दिन तादोङस्थित नरबहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा अपराह्न ४ बजीदेखि मञ्चन गरिनेछ।
आज राजधानीस्थित सिक्किम अकाडेमीको आर्ट ग्यालेरीमा पत्रकारहरूसँग कुराकानी गर्दै अकाडेमीका अध्यक्ष एसआर सुब्बाले किन सहिद दुर्गा मल्लको जिवनीमाथि आधारित नाटक मञ्चन गरिएको भन्ने बारेमा बताए। उनले भने, हामी सबैलाई थाहा छ कि हाम्रा पुर्खाहरूको देशप्रति योगदानको सही मूल्याङ्कन भएको छैन। अझै पनि हामीले दिशको निम्ति हाम्रा पुर्खाहरूले दिएको बलिदान बारे बताउनुपर्छ। अझै पनि हामी हाम्रै देशमा राम्रोसँग चिनिएका छैनौं। भारत देशको स्वतन्त्रता सङ्ग्रामसाथै देशको प्रगतिमा हाम्रा पुर्खाहरूको पनि योगदान छ भनेर बताउनकोलागि सिक्किम अकाडेमीले यो नाटक बलिदान मञ्चन गर्ने निर्णय लिएको हो। स्मरण रहोस, सहिद दुर्गा मल्ल वीर नेपाली-गोर्खा स्वतन्त्रता सेनानी हुन् जसलाई अङ्ग्रेज शासनले फाँसी दिएको थियो।
लेखक एवं निर्देशक चुनिलाल घिमिरेकाअनुसार नाटक बलिदान पुरानो कथाबस्तुमाथि आधारित नयाँ शैलीको नाटक हो। उनलाई यस नाटकको निर्दशनमा युवा निर्देशक सुश्री श्रद्धा छेत्रीले सहयोग गरेकी छन्। नाटक बलिदानले विर गोर्खा स्वतन्त्रता सेनानी शहिद दुर्गा मल्लको जिवनीमार्फत भारत देशप्रति नेपाली-गोर्खा जातिको योगदानलाई देखाउनकोसाथै नाट्य संस्कारको संरक्षणमा पनि योगदान दिने उनले आशा व्यक्त गरेका छन्। अहिले सिक्किम राज्य नाट्य परम्पराको एक सय वर्षको यात्रामा छ। यसको साथै राज्यगठनको ५० वर्ष पूरा भएको विशेष अवसरमा मञ्चन हुनगइरहेको नाटक बलिदानको विशेष महत्व रहनेछ, घिमिरेले भने।
सिक्किम अकाडेमीले सर्वसाधरणलाई नाटक हेर्न आएर नेपाली-गार्खा जातिको देशप्रतिको योगदानलाई बुझ्ने अनि अरुलाई पनि बुझाउने अपील गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement