नयाँ दिल्ली: भारतको नवीनतम बहुउद्देश्यीय स्टेल्थ क्षमतायुक्त गाइडेड मिसाइल युद्धपोत आईएनएस तुशिल (एफ७०) ९ दिसम्बर २०२४ का दिन रक्षामन्त्री राजनाथ सिंहको उपस्थितिमा रूसको कालिनिनग्राडस्थित यंतर शिपयार्डमा भारतीय नौसेनामा समावेश गरियो। यस अवसरमा रक्षामन्त्रीले आफ्नो सम्बोधनमा आईएनएस तुशिलको तैनातीलाई भारतको बढ्दो समुद्री क्षमताको प्रतीक र भारत-रूसबीचको दीर्घकालीन मित्रताको महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए। उनले भने, ‘यो मित्रता साझा मूल्य, आपसी विश्वास, र विशेष तथा रणनीतिक साझेदारीमा आधारित छ।‘

रक्षामन्त्रीले ‘आत्मनिर्भर भारत’को लक्ष्यप्रति रूसको समर्थनलाई भारत-रूसको गहिरो सम्बन्धको अर्को उदाहरण भने। उनले उल्लेख गरे कि आईएनएस तुशिलजस्ता जहाजहरूमा भारतमै निर्मित सामग्रीको प्रयोग बढिरहेको छ, जुन भारतीय र रुसी रक्षा उद्योगहरूको सहकार्यको उत्कृष्ट प्रमाण हो। रक्षामन्त्री सिंहले यस युद्धपोतलाई भारतको प्राविधिक उत्कृष्टताको यात्राको प्रतीक भन्दै संयुक्त क्षमताले प्राप्त भएको उपलब्धि बताए। रक्षामन्त्रीले भारतीय र रुसी नौसेनाबीचको प्राविधिक र सञ्चालन सहयोग निरन्तर प्रगति गर्दै गएकोमा जोड दिँदै भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वमा दुवै देशबीचका सम्बन्ध थप मजबुत हुँदै गएका छन्।‘

उनले हिन्द महासागर क्षेत्रमा शान्ति र सुरक्षाप्रति भारतीय नौसेनाको प्रतिबद्धता दोहोर्याउँदै भने, ‘भारतीय नौसेनाले समुद्री डकैती, हतियार र लागूपदार्थ तस्करी, तथा गैरकानूनी गतिविधिहरूलाई प्रभावकारी रूपमा रोक्न सक्षम भएको छ।‘ उनले ओमान खाडीदेखि अदन खाडी, स्वेजदेखि मलक्का र अष्ट्रेलियादेखि मेडागास्करसम्म भारतीय नौसेनाले सुरक्षा प्रदायकको भूमिका निभाएको उल्लेख गरे। रक्षामन्त्रीले भने, ‘भारत समुद्री व्यापारलाई सुरक्षित र संरक्षित बनाउँदै समुद्री क्षेत्रको निर्बाध व्यापार सुनिश्चित गर्न आफ्ना मित्र राष्ट्रहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ। रक्षामन्त्री राजनाथ सिंहले नौसेनाको द्रुत मानवीय सहायता तथा आपद व्यवस्थापन क्षमताको प्रशंसा गर्दै भने, ‘भारतीय नौसेना जहिले पनि समुद्री आपतकालीन अवस्थाहरूमा पहिलो प्रतिक्रिया दिन तयार हुन्छ।‘

समाप्तिमा, उनले प्रधानमन्त्रीको “सागर” (सुरक्षा र विकास सबैका लागि) दृष्टिकोणप्रति भारतीय नौसेनाको प्रतिबद्धता पुनः दोहोर्याउँदै यसलाई भारतको समुद्री नीतिको मेरुदण्ड भएको बताए। उनले भने, ‘यो दृष्टिकोण हिन्द महासागर क्षेत्रमा शान्ति, स्थिरता, र आर्थिक समृद्धिको प्रवर्द्धन गर्ने उद्देश्यले अगाडि बढाइएको हो। उनले अझ भने, ‘यस प्रयासमा भारतलाई रूसको सहयोग निरन्तर प्राप्त हुँदै आएको छ।‘ रक्षामन्त्री राजनाथ सिंहले भारत र रुसले आगामी दिनमा आफ्नो सहकार्यको सम्पूर्ण क्षमताको उपयोग नयाँ ऊर्जा र उत्साहका साथ गर्ने विश्वास व्यक्त गरे। उनले जोड दिए कि दुवै देशले मात्र सहकार्यका हालका क्षेत्रलाई प्रवर्द्धन गर्ने होइन, तर नयाँ र अझ नछोइएका क्षेत्रमा पनि काम गर्न प्राथमिकता दिनेछन्।

रक्षामन्त्री राजनाथ सिंहले भने, ‘भारत र रुस कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, अन्तरिक्ष अनुसन्धान तथा आतंकवादको अन्त्य जस्ता क्षेत्रमा एक अर्काको विशेषज्ञताको फाइदा उठाउँदै सहकार्यको नयाँ युगमा प्रवेश गर्नेछन्।‘ यस अवसरमा नौसेना प्रमुख एडमिरल दिनेश के त्रिपाठीले परियोजनामा संलग्न सबै व्यक्तिहरू, विशेष गरी शिपयार्डका श्रमिकहरू र भारतीय तथा रूसी उपकरण निर्माताहरूलाई बधाई दिए। उनले रूसी प्रणालीहरूसँग भारतीय प्रणालीहरूको त्रुटिरहित एकीकरण र परियोजनामा प्राप्त गुणस्तर उन्नतिमा योगदानका लागि प्रशंसा गरे।कार्यक्रममा रुसका रक्षा उपमन्त्री अलेक्जेन्डर वासिलीभिच फोमिन, कैलिनिनग्रादका गभर्नर अलेक्सी सर्गेयेभिच बेसप्रोज्वानिख, रूसी नौसेनाका कमाण्डर-इन-चीफ एडमिरल अलेक्जेन्डर अलेक्सेयेभिच मोइसेयेभ, भारतका राजदूत विनय कुमार, र भारतीय र रूसी सरकार, नौसेना र रक्षा उद्योगका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

आईएनएस तुशिलको बारेमा जानकारी
आईएनएस तुशिल परियोजना ११३५.६ अन्तर्गत उन्नत क्रिभाक ३ श्रेणीको युद्धपोत हो। यस परियोजनामा निर्माण भएका ६ वटा युद्धपोत पहिले नै सेवा दिइरहेका छन्। यीमध्ये तीन तलवार श्रेणीका जहाजहरू सेन्ट पिटर्सबर्गको बाल्टिस्की शिपयार्डमा निर्मित छन् भने अन्य तीन टेग श्रेणीका जहाजहरू कैलिनिनग्रादको यंतर शिपयार्डमा बनाइएका हुन्। आईएनएस तुशिल यस श्रेणीको सातौं युद्धपोत हो, जुन दुई अतिरिक्त उन्नत युद्धपोतहरूमध्ये पहिलो हो। यसको सम्झौतामा २०१६ को अक्टोबरमा भारतीय नौसेना, भारत सरकार र जेएससी रोसोबोरोनएक्सपोर्टबीच हस्ताक्षर भएको थियो। यस युद्धपोतलाई हावा, सतह, पानीमुनि र विद्युतचुम्बकीय क्षेत्रका सम्पूर्ण युद्धका गतिविधिका लागि डिजाइन गरिएको छ। यसमा ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइल, श्टिल सतह-हवाई मिसाइल, स्टेल्थ विशेषतायुक्त तोप, टार्पिडो, रकेट, उन्नत इलेक्ट्रोनिक वारफेयर र संचार प्रणालीजस्ता विभिन्न आधुनिक हतियारहरू समावेश छन्।
यो युद्धपोत कामोव २८ र कामोव ३१ हेलिकप्टरहरू बोक्न सक्षम छ, जसले यसको क्षमतालाई थप बलियो बनाउँछ। उन्नत ग्यास टर्बाइन प्रोपल्सन प्रणालीले यसलाई ३० नटभन्दा बढी गति प्राप्त गर्न सक्षम बनाएको छ। आईएनएस तुशिलको निर्माण १२ जुलाई २०१३ मा शुरु भएको थियो र यो २०२१ को अक्टोबरमा पानीमा उतारिएको थियो। यो २५ जनवरी २०२४ मा पहिलो समुद्री परीक्षणका लागि रवाना भएको थियो र २४ सेप्टेम्बर २०२४ सम्म सम्पूर्ण परीक्षण पूरा गरिसकेको छ। यस युद्धपोतले सबै रूसी हतियार प्रणालीको सफल परीक्षण गरिसकेको छ र भारत पुग्दा यो पूर्ण रूपमा युद्धका लागि तयार हुनेछ। -पीआईबी