खरसाङ: खरसाङ महकुमा अन्तर्गत दुधेमा आफ्नै बाबुद्वारा छोरोको हत्या गरेर घुरेनमा गाडेको घटना प्रकाशमा आएको छ। उक्त घटनापछि खरसाङ म्याजिस्ट्रेटको उपस्थितिमा घुरेनमा गाडिएको शव निकाल्ने कार्य गरिएको जानकारी प्राप्त भएको छ। आज बिहान लगभग चार बजीतिर लोवर दुधे फुलेटीमा गोपाल राईले आफ्नै छोरो रोहन राईको हत्या गरी घुरेनमा खाल्डो खनेर गाडेको घटनाले दुधे क्षेत्रमा खैलाबैला मच्चिएको छ। घटनाको जानकारी पाउन साथ गाडीधुरा पुलिसद्वारा छानबीनपछि म्याजिस्ट्रेटको उपस्थितिमा शव निकाल्ने कार्य गरिएको छ। आरोपी पितालाई पुलिसले पक्राउ गरेको छ। छोरो रोहन केही समय अघि कुलतमा फँसेको अनि रिहापमा समेत राखेर कुलत छोडिसकेको भए पनि गत लामो समयदेखि आफ्नो पिता अनि परिवारलाई सताइरहेको कारण नै पिताले हत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ। पार्थिव शरीरलाई पोष्ट मोर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज लगिएको जानकारी प्राप्त भएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सन्त मेरिज ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान मणिराज डुम्जनले क्षेत्रमा नहुनु पर्ने घटना भएको बताउँदै यो नराम्रो खबर रहेको बताएका छन्।