कालेबुङ: मंगलधुरा कल्याण समिति, संगसीर कमानको तत्त्वावधानमा आयोजित सिन्कोना गोल्ड कप फूटबल टुर्नामेण्टमा इलेवेन स्टार असमले क्वार्टर फाइनलमा स्थान बनायो। मंगलधुरा खेल मैदानमा आइतवार भएको म्याचमा इलेवेन स्टार असमले संकटा फूटबल क्लबविरुद्ध पेनल्टी शूटआउटमा ८-७-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। बुधवार खेलिने म्याचमा पहिलो क्वार्टर फाइनलमा डीएलडीपी सिक्किम र एकाडमी नाइट्स (गान्तोक) बीच भिड़न्त हुनेछ। यस सेवेन ए साइट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल २२ दिसम्बरमा हुनेछ।