सिलगढी: शनिबार (७ दिसम्बर) सिलगढ़ीको मोण्टाना भिस्टामा केक र बेकिङ सम्बन्धी आफैमा पहिलो र अनन्य थरीको भव्य उत्सवको आयोजना गरियो, जसलाई ‘द केक एकर्ड’ (केक उत्सव) को नाम दिइयो। उत्सव सिलगढीलगायत पूर्वोत्तर भारतका लागि एक ऐतिहासिक आयोजन थियो, जसले यस क्षेत्रमा पाक-प्रदर्शनका लागि नयाँ मापदण्ड स्थापित गर्यो। यो कार्यक्रम क्षेत्रका दुई स्थानी अग्रणी बेकर संस्थानहरू रिञ्चेन योल्मो सञ्चालित ‘होम बेकर’ र राखी खेतान सञ्चालित ‘द केक थ्योरी’-द्वारा संयुक्त रूपमा आयोजित गरियो। सात विधामा ६० भन्दा बढ़ी प्रतिस्पर्द्धीहरूको सहभागिता रहेको केक उत्सवमा भारतभरिका बेकरहरूलाई एकै ठाउँमा ल्यायो। जसमा आकर्षक ‘क्रिसमस कार्निवल थीम’ मा बनाइएको केक समाविष्ट थियो। सिलगढ़ी, दार्जिलिङ, सिक्किम, कोलकाता, अरुणाचल प्रदेश, गुवाहाटी, दिल्ली र त्यसभन्दा बाहिरका सहभागीहरूले कार्यक्रमको व्यापकता दर्शायो। केक उत्सव देशका विभिन्न क्षेत्रका प्रतिभाहरूलाई एकबद्ध हुने मञ्चको रूपमा देखा पर्यो।

केक उत्सव केवल एक प्रतियोगिता मञ्चमात्र थिएन, बरू यो एक उद्देश्यसहितको अभियान थियो। यस कार्यक्रमले बेकरहरूबीच आपसी नेटवर्किङ बढाउन, क्षेत्रका केक कलाकारहरूलाई आफ्नो सीप प्रदर्शन गर्नका लागि प्रेरित गर्न र सबैभन्दा महत्त्वपूर्ण कुरा, ग्रामीण समुदायहरूलाई सशक्त बनाउन खोजेको थियो। केक उत्सवले बेकिङलाई एक सम्भाव्य व्यवसाय र पेशाको रूपमा प्रवर्द्धन गरेर, यसले सीमित रोजगारीका अवसरहरू भएका क्षेत्रका व्यक्तिहरूलाई आत्मनिर्भरता प्राप्त गर्न र दिगो जीविकोपार्जन सिर्जना गर्न आवश्यक उपकरणहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

ब्राण्ड साझेदारहरूको उदार साझेदारीमार्फत कार्यक्रमको भव्य कार्यान्वयन सम्भव भयो, जसले यसको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको थियो। सुगल फूड्स, ओसोरा फ्लेभर्स, बेकर्सविले, ग्लेनरिजजस्ता नेतृ संस्थाहरूले आफ्नो विशेषज्ञता, स्रोत र सद्भावना प्रदान गर्दै कार्यक्रमलाई अझ शानदार बनाउन सुनिश्चित गरे। उनीहरूको योगदानले सिर्जनात्मकता र सामुदायिक प्रभाव दुवैलाई बढ़ावा दिन सहकार्यको महत्त्वलाई रेखाङ्कित गर्यो। कार्यक्रमको प्रतिष्ठालाई थप गौरव प्रदान गर्दै मुख्य निर्णायक मिशेल सालमको नेतृत्वमा पाक कला उद्योगका दिग्गजहरू स्वेता डालमिया, लेनिन कुमार, एण्टोनी बिदेश, सोनाली मित्रा र आशु साहा विशेष रूपले उपस्थित थिए। उनीहरूको विशेषज्ञता र विचारशील परामर्शले प्रतियोगितालाई समृद्ध बनायो, सहभागीहरूलाई बहुमूल्य प्रतिक्रिया र प्रोत्साहन प्रदान गर्यो।

यस क्षेत्रकै पहिलो केक उत्सवको सफलताले यसलाई केक उद्योगको संसारमा एउटा नयाँ घुम्ती स्थापित हुने सम्भावना प्रबल भएर गएको छ। यसको निर्बाध आयोजन, नवीन विषयवस्तु र सामाजिक प्रभावप्रतिको प्रतिबद्धताले व्यापक प्रशंसा कमाएको छ। केक उत्सवको सिजन २ को प्रतीक्षासँग उत्सवमा उपस्थित व्यक्तित्वहरू प्रेरित भएर घर फर्किए, सहभागीहरूले सम्मानित महसुस गरे। यस अग्रणी कार्यक्रमको पर्दा खिचिँदा एक कुरा स्पष्ट थियो—केक उत्सव केवल प्रतिभाको प्रदर्शनमात्र होइन; यो अवसर, शक्तिकरण र रूपान्तरणको प्रकाश स्तम्भ हो। यसका दुरदर्शी आयोजकहरू, प्रतिभाशाली सहभागीहरू र सहयोगी साझेदारहरूको कारण, सिलगढी र पूर्वोत्तर भारतमा अब पाक उद्योगको चमक आगामी वर्षहरूमा अझ उज्ज्वल हुनेछ।