दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा फ्यूचर स्टार स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा आइतवार खेलिएको एकतर्फी म्याचमा फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम) ले युनाइटेड खरसाङ फूटबल क्लबविरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट योगेश राईले ह्याट्रिक गरे। उनले म्याचको २९औं, ३३औं र ६९औं मिनटमा गोल गरे। योगेश राईले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ अनि फाइनल ३१ दिसम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।