गान्तोक: आगामी वर्षको १४ जनवरीदेखि जोरथाङमा आयोजना हुने माघे संक्रान्ति मेला लिएर आज क्षेत्र विधायक तथा कौशल विकास एवं यातायात विभागका सल्लाहकार मदन सिन्चुरीको अध्यक्षतामा एक समन्वय सभा जोरथाङमा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै समारोह आयोजक समितिका प्रमुख संरक्षक विधायक मदन सिन्चुरीले आगामी माघे संक्रान्ति मेलालाई भव्य रूपले सम्पन्न गराउन उपस्थित सबैलाई आग्रह गर्दै तयारीलाई लिएर अन्य विविध विषयबारे पनि जानकारी गराए। सभामा मेला आयोजक समितिको विभिन्न जिम्मेवारी पनि बाँडफाँड गरियो। यसका साथै अन्य विभिन्न तयारी कार्यबारे पनि सभामा छलफल भएको छ। सभामा क्षेत्र विधायक तथा सल्लाहकार मदन सिन्चुरीलाई समारोह आयोजक समितिको प्रमुख संरक्षकको रूपमा मनोनित गरिएको छ भने समन्वयकको रूपमा मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ रहेका छन्। पारम्परिक ढाँचालाई विसेष महत्व दिएर भव्यताको साथमा यस बर्षको माघे मेला पालन गरिने सभामा निर्णय लिइएको छ।

२४ घण्टा चल्ने यस बर्षको मेलाको अवसरमा पर्यटकहरूलाई पनि आकर्षित गर्न विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेबारे छलफल गरियो।