गान्तोक: सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागीय मन्त्री जीटी ढुङ्गेलले स्थानीय अर्बन प्राथमिक स्वास्थ्य केन्द्रमा परिसरमा टीबीमुक्त भारत अभियानको लागि एक सय दिने अभियानको शुरु गरे। यो कार्यक्रम सिक्किम सरकारको स्वास्थ्य तथा परिवार कल्याण विभागले सिक्किम राज्य एड्स नियन्त्रण संस्थान, राष्ट्रिय स्वास्थ्य मिशन र राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रमको सहयोगमा आयोजना गरेको हो। यो अभियान आजदेखि एक सय दिनसम्म चल्नेछ। अभियान विश्व क्षयरोग दिवसको रूपमा समापन हुनेछ। यस वर्षको अभियानको नारा‘ क्षयरोग मुक्त भारत अभियान’ रहेको छ। मन्त्री ढुङ्गेलले सिक्किममा क्षयरोगको खतरालाई नियन्त्रण गर्ने प्रयासका लागि स्वास्थ्य अधिकारीहरूलाई धन्यवाद दिए। जनसङ्ख्याका आधारमा सिक्किममा क्षयरोगका बिरामीको सङ्ख्या केही धेर रहेकोमा चिन्ता व्यक्त गर्दै स्वास्थ्यकर्मी र सर्वसाधारणको सहभागितामा राज्यबाट रोगमुक्त गर्न सकिने बताए। क्षयरोगका बिरामीको उपचारमा संलग्न स्वास्थ्य अधिकारीहरूलाई सन्देश दिँदै उनले अभियानको आगामी सय दिनसम्म सक्दो सहयोग गर्न आग्रह गरे। उनले अभियानको अवधि चिकित्सक, नर्स र प्राविधिकका लागि चुनौतीपूर्ण रहे पनि यसलाई सफल बनाउन सक्षम बन्ने विश्व्स व्यक्त गरे। अभियानअन्तर्गत गेजिङ र नाम्ची जिल्लामा पनि तयारी चलिरहेको बताएको छ। कार्यक्रमको क्रममा मुख्य अतिथि र विशिष्ट अतिथिहरूको हातबाट सिक्किम राज्यको लागि वार्षिक क्षयरोग रिपोर्ट २०२४ को विमोचन गरिएको थियो।