शारजाह: भारतले श्रीलंकालाई पराजित गरी एसीसी अण्डर-१९ एशिया कप क्रिकेट टुर्नामेण्टको फाइनलमा स्थान बनायो। भारतले शुक्रवार खेलिएको सेमिफाइनल म्याचमा श्रीलंकालाई सजिलै ७ विकेटले पराजित गऱ्यो। अब आइतवार खेलिने फाइनलमा भारतको भिड़न्त बंग्लादेशसँग हुनेछ, जसले पाकिस्तानलाई पराजित गरी फाइनलमा स्थान बनायो। शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाई टीम ४६.२ ओभरमा १७३ रन बनाएर अलआउट भयो। जवाफमा भारतले २१.४ ओभरमै ३ विकेटमा १७५ रन बनाएर म्याच जित्यो। भारतको तर्फबाट ओपनर वैभव सूर्यवंशीले सर्वाधिक ६७ रन बनाए। यस १३ वर्षीय ब्याटरले विध्वंशी मिजासमा ब्याटिंग गर्दै ३६ बल खेलेर ५ वटा छक्का र ६ वटा चौका लगाए। यसबाहेक उनका साथी ओपनर अयुष म्हात्रेले ३४ रनको योगदान दिए। वैभव र म्हात्रेले पहिलो विकेटको निम्ति ८.३ ओभरमै ९१ रनको पार्टनरशीप गरे। म्हात्रेले २८ बल खेलेर ७ वटा चौका लगाए। यी दुईजना बाहेक सी.आन्द्रे सिद्दार्थले २२ र कप्तान मोहामेद अमानले अविजित २५ रन बनाए। केपी कार्थिकेय ११ रनमा अविजित रहे। यसअघि श्रीलंकाको शुरुवात खराब रह्यो अनि ८ रनमै ३ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट लाकविन अबेसिंघेले ६९ रन बनाएर टीमलाई सम्हाले। उनले ११० बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक शारुजन शानमुगनाथनले ४२ रनको योगदान दिए। अन्य कसैले पनि उल्लेखनीय रन बनाउन सकेनन्। भारतीय बलरहरूमा चेतन शर्माले सर्वाधिक ३ विकेट लिए। यसबाहेक किरण चोरमाले र अयुष म्हात्रेले २-२ विकेट हासिल गरे।
यसबाहेक अन्य एउटा सेमिफाइनलमा बंग्लादेशले पाकिस्तानलाई ७ विकेटले पराजित गऱ्यो। दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममाम टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तान ३७ ओभरमा केवल ११६ रन बनाएर अलआउट भयो। फरहान यूसफले ३२ र मुहम्मद रियाजुल्लाहले २८ रन बनाए। बंग्लादेशका बलरहरूमा इकबाल होसेन एमोनले सर्वाधिक ४ विकेट लिए। त्यसपछि बंग्लादेशले २२.१ ओभरमा ३ विकेटमा १२० रन बनाएर म्याच जित्यो। बंग्लादेशबाट कप्तान अजिजुल हाकिमले अविजित ६१ रन बनाए। उनले ४२ बल खेलेर ७ वटा चौका र ३ वटा छक्का लगाए। मोहम्मद शिहाब जेम्सले २६ रनको योगदान दिए।