गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले आज नाम्चीस्थित जिल्ला पार्टी कार्यालयमा पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा एक महत्वपूर्ण जिल्ला समन्वय सभा सम्पन्न गऱ्यो।
यस सभामा पार्टीका केन्द्रिय कार्यकारिणी समितिका वरिष्ठ नेता, कार्यकर्ता र पदाधिकारीहरूको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
सभाको आरम्भमा नाम्ची जिल्ला अध्यक्ष डीबी गुरुङले स्वागत मन्तव्य व्यक्त राख्दै जिल्लाको सांगठनिक कार्ययोजनाका उपलब्धि र चुनौतीहरूबारे स्पष्ट पारे। केन्द्रिय कार्यकारिणी परिषदकी उपाध्यक्ष सन्जु राईले पार्टीको मिशन र भिजनलाई थप उचाइमा पुर्याउनका लागि आफ्नो धारणा व्यक्त गरिन्। सभामा जिल्ला सांगठनिक महासचिव रबिन राई, र केन्द्रिय सांगठनिक महासचिव प्रकाश पराजुलीले पार्टीको सांगठनिक गतिविधि, सुदृढ संरचना र आगामी योजनाहरूबारे विशेष प्रस्तुति दिए।
पार्टी अध्यक्ष गणेश राईले आफ्नो सम्बोधनमा नाम्ची जिल्लाको समग्र कार्यप्रणालीप्रति सन्तुष्टि जनाउँदै पार्टीले अघि सारेका भावी रणनीतिहरूबारे विस्तृत रूपमा प्रकाश पारे। उनले भने, ‘आज सिक्किम कुइरोभित्रको कागजस्तो अन्योलपूर्ण अवस्थामा छ। यसलाई सुधार्न सिटिजन एक्सन पार्टी मात्र सही विकल्प हो।’ उनले सिक्किममा भइरहेको राजनीतिक, सामाजिक र आर्थिक असन्तुलनलाई सच्याउनका लागि पार्टीको जिम्मेवारी र संकल्पमाथि प्रकाश पार्दै जनताको सुरक्षा, अधिकार र उज्ज्वल भविष्यका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाए।
सभामा नाम्ची जिल्ला नवनियुक्त कार्यकारिणी समितिलाई कार्यालय आदेश प्रदान गरियो, जसले जिल्ला संगठनलाई थप गतिशील र बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। सभाका सहभागीहरूले पार्टीको नेतृत्व, संगठनात्मक संरचना र कार्यप्रणालीको प्रशंसा गर्दै पार्टीका आदर्श र मूल्यप्रति आफ्नो दृढ आस्था प्रकट गरेको कुरा विज्ञप्तिमा उल्लेख छ।