एडिलेड: बोर्डर गावस्कर ट्रफी टेस्ट सीरीजअन्तर्गत अष्ट्रेलियाविरुद्ध शुक्रवारदेखि शुरु डे-नाइट दोस्रो क्रिकेट टेस्ट म्याचमा भारतीय टीम पहिलो दिन नै समस्यामा पऱ्यो। आज म्याचको पहिलो दिन टस जितेर पहिला ब्याटिंग गर्दै भारतको पहिलो ईनिंग्स केवल १८० रनमा समाप्त भयो। जवाफमा अष्ट्रेलियाले पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा १ विकेट गुमाएर ८६ रन बनायो। यसरी भारतसँग अहिले केवल ९४ रनको बढ़त रहेको छ। अष्ट्रेलियाले आज एकमात्र ओपनर उस्मान ख्वाजाको रूपमा एकमात्र विकेट गुमायो, जसले १३ रन बनाए। ख्वाजालाई जसप्रीत बुमराहले आउट गरे। केवल २४ रनमा पहिलो विकेटको पतनपछि दोस्रो ओपनर नेथन म्याकस्वीनी र मार्नस लाबुशेनले मिलेर दिनको अन्तसम्म लड़ाइँ जारी राखे। म्याकस्वीनी ३८ र लाबुशेन २० रनमा अविजित छन्। यी दुईजनाले दोस्रो विकेटको निम्ति ६२ रनको पार्टनरशीप गरिसकेका छन्।
यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै फर्ममा रहने युवा ओपनर यशस्वी जयसवाललाई पहिलो बलमै गुमायो। उनलाई मितेल स्टार्कले आउट गरे। यसरी शून्य रनमा पहिलो विकेटको पतनपछि केएल राहुल र शुभमन गिलले मिलेर धैर्यको साथ खेल्दै दोस्रो विकेटको निम्ति ६९ रनको पार्टनरशीप गरे। यी दुईजना क्रीजमा रहँदासम्म सबैथोक ठीक लागिरहेको थियो तर केएल राहुल १९औं ओभरमा स्टार्कको दोस्रो शिकार बन्नको साथै भारतले लगातार अन्तरालमा विकेट गुमाउन थाल्यो। केएल राहुलले ३७ र गिलले ३१ रन बनाए। दुईजना सीनियर ब्याटर विराट कोहली र कप्तान रोहित शर्माले आज निराशाजनक प्रदर्शन गरे। कोहलीले ७ र रोहितले ३ रन मात्र बनाए। यसबाहेक रिषभ पन्त २१ रन बनाएर आउट भए। भारतको निम्ति सातौं नम्बरमा ब्याटिंग गर्दै नीतिश कुमार रेड्डीले सर्वाधिक ४२ रन बनाए। उनले ५४ बल खेलेर ३ वटा छक्का र ३ वटा चौका लगाए। रविचन्द्रन अश्विनले २२ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा स्टार्कले सर्वाधिक ६ विकेट लिए। यसबाहेक प्याट कमिन्स र स्कट बोलाण्डले २-२ विकेट हासिल गरे।