देउवाले भने, ‘थाहै छैन’
विराटनगर: पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विराटनगरमा कांग्रेसकै इतर अर्थात डा. शेखर कोइराला गुटले गरेको भेलाका बारेमा अनभिज्ञता प्रकट गरेका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भेलाका बारेमा आफूलाई थाहै नभएको प्रतिक्रिया दिएका हुन्। पार्टी केन्द्रीय समितिको सर्कुलर विपरीत कोइराला पक्षले गत मंगलबार विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिहरुको भेला आयोजना गरेको थियो।
भेलाको बन्दसत्र भने बेलबारीको ड्रीमल्याण्ड पार्कमा भएको थियो। सभापति भेलाको बन्द सत्रमा कांग्रेस नेता डाक्टर शेखर कोइराला, मोरङ क्षेत्र नम्बर ३ का सांसद तथा मेडिकल व्यवसायी डाक्टर सुनील शर्मा, मोरङ क्षेत्र नम्बर १ का सांसद डिगबहादुर लिम्बू, डाक्टर मिनेन्द्र रिजाल, गुरुराज घिमिरे लगायतका नेताहरु सहभागी थिए।
विराटनगरमा भेलालाई सम्बोधन गर्दै कोइरालाले भनेका थिए, ‘कुनै किसिमको डर, धाक, धम्कीबाट तपाईंहरु आत्तिनु भएन। तपाईंहरू निस्फिक्री भएर घर जानुस्। तपाईंहरूको संरक्षण म गर्छु।’ यही विषयमा पत्रकारले प्रश्न सोध्दा पार्टी सभापति देउवाले भने भेलाका बारेमा थाहा नभएको बताएका हुन्। उनले भने, ‘मलाई थाहै छैन। अहिले थाहा पाएँ।’
कांग्रेसको प्रदेश समितिले दिसंबर १ अर्थात शनिबार प्रदेश सम्मेलन आयोजना गर्दैछ। उक्त भेलालाई देउवालगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसअघि देउवा, गृहमन्त्री रमेश लेखकलगायतका नेता शुक्रबार धरान गएका छन्।
विराटनगर विमानस्थलमै देउवाले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी संविधान संशोधन गर्न सकिने बताए। ‘उपराष्ट्रपतिको भूमिका छैन। उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउन सकिन्छ कि भन्ने कुरा हो,’ संविधान संशोधनको प्रसंगमा सोधिएको प्रश्नमा देउवाको जवाफ थियो।
प्रधानमन्त्री केपी शर्मा ओली चीन गएको बेला बीआरआईमा ऋण लिने सहमति नभएको उनको भनाइ छ। उनले ऋण लिने सहमति नगरेको भन्दै ओलीलाई धन्यवाद दिए। देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने स्पष्ट पारेका छन्। तपाईंको उत्तराधिकारी गगन थापा हो? भनेर पत्रकारले प्रश्न गर्दा उनले भने, ‘उत्तराधिकारी कहाँ घोषणा गरेर हुन्छ।’