गान्तोक: सिक्किम रेनुएवल एनर्जी डेभलोपमेन्ट एजेन्सीद्वारा आयोजना गरिएको पीएम श्री सुर्य घर, मुफ्त विजली योजना कार्यक्रममा गेजिङ जिल्लाले पनि सहभागिता जनायो। विशेष गरेर भर्चुअल सम्मेलन राबदेञ्ची पार्टस्थित सिदक्योङ टुल्कु बर्ड पार्कको ल्हाटसुन पुस्तकालयमा आयोजना गरिएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य पीएमश्री सुर्य घर, मुफ्त विजुली योजनालाई कार्यान्वयन गर्नको निम्ति रहेको हो। यस कार्यक्रमको अध्यक्षता गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले गरेकी थिइन्। उक्त अवसरमा अतिरिक्त जिल्लापाल (मुख्यालय)रजनी शर्मा, विद्युत विभागका मुख्य अभियन्ता दिनेश गुरूङ लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिव अमित लामिछानेले उक्त योजनालाई कार्यान्वय कसरी गर्न सकिन्छ भन्नेबारेमा पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जानकारी गराए। सोही प्रकारले जिल्लापाल योङदाले जिल्लाका दुर्गम क्षेत्रमा सचेतना अभिवृद्धि अभियानको थाल्नी गरेर यस योजनाबारे मानिसहरूलाई सचेत गराउनु पर्ने आवश्यकतामाथि जोड दिइन्। उनले सिक्किम रेनुएवल एनर्जी डेभलोपमेन्ट एजेन्सीका अधिकारीहरूलाई सिक्किम एक हिमाली राज्य भएकोले गर्दा यहाँ ऊर्जा प्रशस्त उत्पादन गर्न सकिने र यसलाई नवीकरणीय ऊर्जा स्रोतको थप विकल्पको रूपमा पनि प्रयोग गर्न सम्भावना व्यक्त गरिन्।