गान्तोक(सिक्किम): नागाल्याण्ड राज्यको किसामा भिलेजमा भई रहेको हर्नबिल फेस्टिवल २०२४ को २५औं संस्करणको चौथौ दिन आज नागाहरुको ढुङ्गा तान्ने कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा केन्द्रिय पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत, नागाल्याणका मुख्यमन्त्री नेफ्यू रियो, सिक्किमको मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ, सिक्किम सरकारका सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण आले लगायत व्यक्तित्वहरूकोउपस्थिति रहेको थियो।
सो कार्यक्रम कोहिमा-मोआ राष्ट्रिय राजमार्ग २मा जाखामा सैन्य स्टेशनदेखि किसामा हेरिटेज भिलेजसम्म आयोजन गरिएको थियो।नागा समुदायमा सांस्कृतिक महत्वका राख्ने ढुङ्गा तान्ने कार्यक्रम आगमी नागा जनजातिहरूको लोकप्रिय परम्परा हो। यो महोत्सवको मुख्य आकर्षण रहेको छ र नागा धरोहरको यस जीवन्त अभिव्यक्तलाई हेर्न मानिसहरूको घुॅंइचो लाग्ने गर्दछ।
आफ्नो पारम्परिक पोशाकमा सजिएका प्रतिभागीहरू कार्यक्रम स्थलमा उपस्थित भए, त्यसपछि आदिवासी अग्रजहरू र पुजारीहरूले कार्यक्रम शुरू गर्नअघि आशीर्वाद लिए। ढुङ्गा तान्ने कार्यक्रमले नागा समुदायको अदम्य भावना, चुनौतीहरू पार गर्न उनीहरूको लचिलोपन र पैतृक ज्ञानप्रति उनीहरूको श्रद्धालाई प्रतिनिधित्व गर्दछ।