जीटीएको पहलमा पोस्टमार्टमपछि आज कोलकाता पठाइने
दार्जिलिङ: गत एक दिसम्बरका दिन मात्र सन्दकपुर घुम्न आएकी दमदम, उत्तर परगना, कोलकाता निवासी २८ वर्षीय अङ्किता घोषको हिजो राति अचानक मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार सन्दकपुर घुमेर फर्किरहेकी अङ्किता आफ्नो साथीहरूसँग तुमलिङमा बास बसेकी थिइन्। रात्री खाना खाएपश्चात अङ्किता आफ्नो रूममा गएपछि शौचालयमा नै लडेको अवस्थामा भेटिएको हो। घटनाको सूचना जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानलाई गरेपश्चात् उनले तत्काल मानेभञ्ज्याङ ल्याण्डरोभर एसोसिएसनलाई घटना विषय खबर गरेपछि जीटीए अनि एसोसिएसनको सहयोगमा सुके अस्पताल लगिएको थियो। डाक्टरले जाँच पश्चात् त्यहाँबाट दार्जिलिङ जिल्ला अस्पताल रेफर गरिदिए। अङ्कितालाई बिहान लगभग ४ बजे दार्जिलिङ जिल्ला अस्पताल पुर्याए तापनि डाक्टरले मृत घोषित गर्यो। कोलकाता निवासी तिनको पिता अमित घोष लगायत परिवारलाई घटना विषय जीटीएले जानकारी गराइसकेको बताइएको छ। आफ्नो ठाउँमा घुम्न आएकी पर्यटकको मृत्युमा दुःख व्यक्त गर्दै जीटीएले नै एम्बुलेन्सको बन्दोबस्त गरेर अङ्किताको शवलाई कोलकाता पठाउने पनि डेपुटी चियरम्यान राजेश चौहानले जनाएका छन्। २८ वर्षीय अङ्किताको मृत्युको सठिक कारण भने पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थाहा लाग्ने छ। जानकारीका अनुसार अङ्किता १ दिसम्बर २०२४ का दिन एनजेपी स्टेशनबाट मानेभञ्ज्याङ पुगेकी थिइन् भने दुइ दिसम्बरका दिन सन्दकपुमा नै बास बसेपछि फर्किने क्रममा ३ दिसम्बर अर्थात् हिजो तुमलिङमा बसेर आज सिलगढीबाट बसमार्फत् कोलकाता फर्कने योजना रहेको बताइएको छ।