हिन्द महासागरको पानीमुनि एउटा यस्तो पर्वत श्रृंखला…

00-1-Ocean-copy

हिन्द महासागरको पानीमुनि एउटा यस्तो पर्वत श्रृंखला लुकेको छ, जसको लम्बाइ उत्तरी अमेरिकाको ‘रकीज’ भन्दा पनि धेरै छ। ‘नाइंटी ईस्ट रिज’ भनिने यो पर्वत श्रृंखलाको सम्पूर्ण भाग (झन्डै ५,००० किलोमिटर) पानीमुनि छ। हालै गरिएको एक नयाँ अध्ययनमा यो नाइंटी ईस्ट रिज कसरी बनेको हो भन्ने पत्ता लगाउन समुद्रको गहिराइसम्म झाँक्ने प्रयास गरिएको छ। अध्ययनले यस्तो तथ्य उजागर गरेको छ, जसले पृथ्वीको भूगोल सम्बन्धी परम्परागत धारणालाई चुनौती दिएको छ। महासागरको पानीमुनि पाइने ज्वालामुखीलाई सीमाउन्ट भनिन्छ। यी ज्वालामुखी पृथ्वीको सतहमुनि रहेको ‘हटस्पट’ का कारण बन्छन्। हटस्पटबाट उत्पन्न हुने तातोले म्यान्टललाई पगालेर धुवाँजस्तो तातो म्याग्मा निस्कने पाइपजस्तो प्रवाह बनाउँछ। शुरुमा वैज्ञानिकहरूलाई लाग्दैन थियो कि हटस्पटहरू चल्न सक्छन्। त्यसैले, पानीमुनिका ज्वालामुखीको एउटा लहर स्थिर हटस्पटको माथि टेक्टोनिक प्लेटहरू खिस्कने कारण बनेको मानिन्थ्यो।

तर, नयाँ अध्ययनले देखायो कि हिन्द महासागरको यो ज्वालामुखी श्रृंखला फरक प्रकारले बनेको हो। वैज्ञानिकहरूले यसलाई एउटा फाउन्टेन पेनको रूपमा बुझाएका छन्, जसको चल्ने ‘टिप’ले पृथ्वीको सतहमा तातो म्याग्मा जम्मा गर्दै गएको थियो। अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयका भूवैज्ञानिक ह्युगो ओलीरूकका अनुसार, “धेरैजसो ज्वालामुखीय हटस्पट स्थिर रहन्छन् र टेक्टोनिक प्लेटहरूको बहावका कारण ज्वालामुखी लहर बनाउँछन्। तर, यो अध्ययनले देखायो कि नाइंटी ईस्ट रिजका लागि जिम्मेवार हटस्पट म्यान्टलभित्र सयौं किलोमिटर परसम्म सरेको थियो।”

ओलिरूकले भने, “यस्तो हटस्पटको सर्नु सामान्य मानिएको भए पनि यो प्रमाणित गर्न कठिन छ, र अहिलेसम्म यो केवल प्रशान्त महासागरका केही हटस्पटमा देखिएको थियो। हिन्द महासागरमा यो पहिलो पटक प्रमाणित भएको छ।” यो प्रक्रिया केर्गुएलन हटस्पटको कारण भएको हो, जसले हिन्द महासागरको पानीमुनिको यो पर्वत श्रृंखला बनाउन मद्दत गरेको हो। धेरै अध्ययनहरूले देखाएका छन् कि यो हटस्पट समयसँगै दक्षिण वा पश्चिमतर्फ सरेको हुनसक्छ। अष्ट्रेलिया, स्वीडेन, चीन र अमेरिकाका अनुसन्धानकर्ताहरूले यसलाई पुष्टि गर्न नाइंटी ईस्ट रिजबाट बेसाल्टको नमूना विश्लेषण गरे। नतिजाले देखायो कि केर्गुएलन म्यान्टल प्लुम त्यतिबेला बन्यो जब भारतीय प्लेट उत्तरतर्फ सर्दै थियो, जसले गर्दा हिन्द महासागर खुल्न थाल्यो। रेडियोआइसोटोपिक डेटिङले देखायो कि ८३ देखि ६६ मिलियन वर्षपहिले यो पर्वत श्रृंखलाका चुलीहरू समुद्री तलीको फैलावटको दरको करिब आधा गतिमा बनेका थिए। चीन पेट्रोलियम विश्वविद्यालयका कियाङ जियाङको नेतृत्वमा अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले लेखेको छ कि यसको अर्थ केर्गुएलन हटस्पट भारतीय प्लेटमुनि स्थिर थिएन। यो अध्ययन नेचर कम्युनिकेशन्स जर्नलमा प्रकाशित भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement