भैरहवा: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ हजारभन्दा बढी यात्रुले सिधा उडान, अवतरण र ट्रान्जिट सुविधा लिएका छन्। गत नोभेम्बर ३ देखि ३०सम्म यी यात्रुले विमानस्थल प्रयोग गरेका हुन्।
यो विमानस्थलबाट कुवेत–भैरहवा–कुवेत तथा बैंकक–भैरहवा–बैंकक सिधा उडान भइरहेको छ भने दुबई–भैरहवा–काठमाण्डू –दुबई तथा दोहा–भैरहवा–काठमाण्डू –दोहा ट्रान्जिट उडान भइरहेको छ। २८ दिनमा सिधा उडानमार्फत २ हजार २ सय २७ यात्रु भैरहवा ओर्लंदा २ हजार ५२ जना यहाँबाट प्रस्थान गरेको नागरिक उड्डयन प्राधिकरण भैरहवाका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो। त्यसैगरी यो विमानस्थलमार्फत ४ हजार ९ सय ३२ जनाले ट्रान्जिट सेवा लिएका छन्। फ्लाई दुबई, कतार एयरवेज र नेपाल एयरलाइन्सले ट्रान्जिट उडान गर्दै आएका छन्।
रावतका अनुसार सबैभन्दा बढी कुवेतबाट आउने र त्यहाँ जाने यात्रु छन्। जजिरा एयरवेजबाट १ हजार १ सय ५४ जना यात्रु भैरहवा ओर्लंदा १ हजार ६ सय ३१ जना कुवेत प्रस्थान गरेका छन्। जजिराले यो गन्तव्यमा साताको ३ उडान गर्दै आएको छ। यसको उडान नियमित भइरहेको छ। त्यसैगरी हप्ताको दुई उडान सुरु गरेको थाई एयर एसियाले भने लोडका कारण साताको एक उडानमात्र गर्दै आएको सूचना अधिकारी रावतले बताउनुभयो। थाईबाट अहिलेसम्म ७२ जना यात्रु आउँदा ३ सय ७५ यात्रु सिधै बैंकक उडेका छन्।
कतार एयरवेजले उडान तालिका ३० नोभेम्बरसम्मका लागि स्वीकृत गराएकोमा डिसेम्बर एकदेखि उडान बन्द गरेको छ। अब फेरि उडान गर्छ या गर्दैन निश्चित छैन। अन्य कम्पनीले भने नियमित तालिकाअनुसार नै उडान गरिरहेका छन्। जजिराले कुवेत हुँदै दुबई, दोहा, बहराइनलगायत गन्तव्यबाट समेत ट्रान्जिट सेवा उपलब्ध गराएपछि दुबई तथा दोहामा रहेका यात्रु पनि जजिराबाट सिधै भैरहवा आउने क्रम बढेको छ।अन्तर्राष्ट्रिय उडान पुनः सुचारु भएपछि आशाको सञ्चार भएको पर्यटन व्यवसायीले बताएका छन्।