कोहिमा(नागाल्याण्ड): सिक्किम अनि नागाल्याण्डले जैविक खेती र बाँस शिल्प प्रविधिबारे सहकार्य गर्ने भएको छ। नागाल्याण्डको किसामा हेरिटेज भिलेजमा हिजोदेखि शुरु भएको १० दिवसीय २५औँ हर्नबिल फेस्टिवल २०२४-को आयोजक नागाल्याण्ड अनि सहयोगी राज्य सिक्किम, तेलेंगाना अनि अन्य सहयोगी राष्ट्रहरूमाझ आज बसेको महत्त्वपूर्ण बैठकमा यसबारेमा सहमति भएको छ। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सिक्किमकी सूचना एवं जनसम्पर्क विभागीय सचिव अन्नपूर्णा आलेले यसबारे जानकारी गराइन्। बाँस शिल्पमा नागाल्याण्ड प्राविधिक रूपमा पनि धेरै अघि रहेको उल्लेख गर्दै यसबारे सिक्किम राज्यसँग सहकार्य गर्न नागाल्याण्ड तयार रहेको उनले बताइन्। यसरी नै सिक्किम राज्यले नागाल्याण्डलाई जैविक खेतीमा सहयोग गर्ने भएको छ। दुवै राज्यमाझ पर्यटन र यससँग सम्बन्धित गतिविधिहरूमा पनि काम हुने बैठकमा चर्चा भएको छ।
२५औँ हर्नबिल फेस्टिवलमा सहयोगी राज्य सिक्किमले विविध गतिविधिमार्फत जनाइएको सहभागितालाई नागाल्याण्ड सरकारले सराहना गरेको मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले पत्रकारहरूसँगको कुराकानीमा जानकारी गराए। सहयोगी राज्यको रूपमा सिक्किमले धेरै कुरा सिक्ने अवसर पाएको उनले मन्तव्य व्यक्त गरेका छन्। राज्य सरकारले विशेष गरेर युवा समुदायलाई प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै यस कार्यक्रममा युवाहरूको सहभागिता रहेको बताए। युवामुखी मुख्यमन्त्री प्रेमसिंह तामाङको सोच अनुरूप यो महोत्सवमा राज्यका युवा प्रतिनिधि टोलीले विविध विषयमा अनुभव गर्ने, सिक्ने अवसर पाएको उनले थप विचार पोखे।









