रिनाक: पाकिम जिल्लाअन्तर्गत रिनाक रूङदुङस्थित साहित्यकार कपिलमणि अधिकारीको वासस्थानमा साहित्य कला समाज, सिक्किमको एक सभा आइतबार सम्पन्न गरियो। साहित्यकार डिल्ली प्रसाद अधिकारीको अध्यक्षतामा आयोजित सभामा भूतपूर्व सरकारी अधिकारी लगायत साहित्यकार, भाषा प्रेमी तथा केही युवा जमातको उपस्थिति रहेको थियो। समाजका संस्थापक कपिलमणि अधिकारीले साहित्य कला समाजको विवरण दिँदै भावी साहित्यिक कार्यक्रम, रिनाकबाट सन् २००१ देखि प्रकाशनमा रहेको सृष्टि पत्रिकाको १६औ अङ्कसम्म प्रकाशित भइसकेको साथै नव समिति गठनबारे बोल्दै साहित्यकार अनि भाषाप्रेमी एकजुट भएर दह्रिलो साहित्यिक कार्य गर्नुपर्ने आह्वान गरे।
सोही रूपमा तारपिन जीपीयूका वार्ड पञ्चायत सदस्य रमेश बरालले सो साहित्य कला समाजले विगत २०२२ -मा भानु जयन्ती समारोह भव्य आयोजना गरेको तथापि अब सबैको सहभागितालाई साथ लिएर आगामी कार्यक्रम गरौं भन्ने सुझाउ राखे। शिक्षाविद रूङदुङ निवासी शंकर लुइँटेलले नेपाली भाषाको अवस्था र स्तरमाथि सचेत गराउँदै गहकिलो वक्तव्य राखे भने नवोदित कवि बीके कौशिकले स्वरचित कविता वाचन गरेका थिए।
साहित्य कला समाज सिक्किम रिनाकको सभामा नव कार्यकारिणी समिति गठन गरियो जसमा अध्यक्ष कपिलमणि अधिकारी, उपाध्यक्ष अर्जुन कुमार दास र सीता दवाड़ी, महासचिव डिल्ली प्रसाद अधिकारी, संयुक्त सचिव रमेश बराल, सांस्कृतिक सचिव गजेन्द्र दाहाल निर्मोही र सुरेश पञ्चकोटी, प्रचार-प्रसार सचिव भानुराज थापा , जोसेफ लेप्चा, अनन्त शर्मा आजाद, तेजेन्द्र अधिकारी, रमेश ढुङ्गाना, कोषाध्यक्ष मोहन आचार्य र आतम कुमार प्रधान, साहित्य सचिव अभीनारायण मिश्र र दुर्गा प्रसाद शर्मा, युवा समन्वयकहरू शंकर लुइँटेल, नवराज शर्मा, उपेन भुजेल, अविनास अधिकारीसहित सल्लाहकारगणमा रूद्रप्रसाद आचार्य, मधुसूदन शर्मा, सुरेशकुमार दास, निकिता शर्मा, बीके कौशिक, एचबी गुरुङ, धुव्र वशिष्ठलाई सर्वसम्मतिद्वारा चयन गरियो।
सभाले यस समाजमा प्रवेश शुल्क सेवानिवृत र कार्यरत कर्मचारीका लागि रू. ५०० (पाँच सय) अन्य महानुभावहरूले रू. १०० (एक सय) निर्धारित गरियो भने सदस्यहरूको निम्ति मासिक शुल्क रू. १०० (एक सय) मात्र तोकिएको छ साथै अब उसो प्रत्येक महिनाको प्रथम शनिबार साहित्यिक भेटघाट कार्यक्रम गर्ने निर्णय लिइयो।
सभाध्यक्षको आसनबाट समाजकै तत्वावधानमा आगामी १ जनवरी नेपाली साहित्य जगतका वरिष्ठ साहित्यकार पारसमणि प्रधान अनि रिनाक तारपिन निवासी उदयचन्द्र वशिष्ठ जन्म जयन्ती हामीले पालन गर्न सक्छौँ साथै आगामी २६ जनवरीकै दिन रिनाकमै जन्म ग्रहण गरेका महान साहित्यकार शिव कुमार राईको जन्म जयन्ती पनि मनाउन सकिने सुझाउ राखे अनि रिनाकमा आफ्नै अगुवाइमा मासिक रूपमा प्रतिभा मञ्च ३७ औ प्रकरण सम्म पुगेको थियो अनि सिक्किम सरकार द्वारा आर्थिक अनुदान पनि प्राप्त भएको उल्लेख गर्दै डिल्ली प्रसाद अधिकारीले यसै प्रतिभा मञ्चलाई नै साहित्य कला समाजले नियमियता दिन सक्ने धारणा पनि राखे कार्यक्रमको निम्ति रिनाक महाविद्यालयको प्रेक्षागृह उपयोग गर्न व्यवस्था मिल्ने थप कुरा राखे।
सभामा विभिन्न बुँदामाथि चर्चा-परिचर्चापछि कार्यकारिणी समितिको सल्लाहकार तथा सिक्किम सरकारका वन विभागका पूर्व अधिकारी सुरेशकुमार दासले कृतज्ञता ज्ञापन गरेका थिए।